तपाईँ सुन्दै हुनुहुन्छः

ललितकला प्रज्ञा–प्रतिष्ठानको सिर्जनात्मक भावभङ्गी कला महोत्सवमा १२ कलाकारको प्रतिष्पर्धा

काठमाडौ । कोरीबाटी गरेर साडी, चोलोमा चिटिक्क सजिएकी एक यौनिक तथा अल्पसङ्ख्याक (तेस्रोलिङ्गी) आफ्नो अस्तित्वको खोजीमा भौँतारिँदै आइन् ।

उनी समलिङ्गी प्रति आकर्षित भए पनि परिवारले भने स्वीकार्न तयार भएन । सबै गुण महिलाको भएको र त्यहीअनुसारको आकर्षण भए पनि समाजले पुरुषका रुपमा मात्रै स्वीकार्ने भएकाले उनमा आफ्नो अस्तित्वको खोजी त्यसै हराउँछ । बाध्यताले गर्दा आफ्नो चाहना मारेर पनि उनी पुरुष बन्न पुग्छिन् समाजसँग हार खाएर अन्तमा जीवन समाप्त गर्छिन् ।

कलाकार ध्रुवसागर शर्माले ‘परफरमेन्स आर्ट’ (भावभङ्गी कला)मार्फत तेस्रोलिङ्गीको जीवन पीडालाई प्रस्तुत गर्नुभएको हो । “मैले आफ्नै गाउँमा एक तेस्रोलिङ्गीले आत्महत्या गरेको देखेको छु, मान्छेले आफ्नो चाहनाअनुसार बाँच्न पाएको छैन, अझै पनि उनीहरुलाई स्वीकार्न सक्ने समाज छैन, त्यसैले उनीहरुको पीडा कलामार्फत देखाउन खोजेको छु”, उहाँले भन्नुभयो ।

विगतको त्यो अनुभवलाई आफूले कवितामा समेत समावेश गरेको बताउँदै चित्रकार शर्माले भन्नुभयो हिजो यहाँ ‘परफरमेन्स कला’मार्फत यस्तो प्रस्तुत गरेको बताउनुभयो । समाजमा फरकफरक गतिविधि हुन्छन् । एकले अर्काको अस्तित्व स्वीकार गर्नुपर्छ भनेर सप्तरङ्गी डोरी देखाइएको छ । काठमाडौँमा ललितकला प्रज्ञा–प्रतिष्ठानको सिर्जनात्मक कला महोत्सवमा उहाँले मौन तर जीवन्त अभिनयका माध्यामले प्रष्टसँग कला प्रस्तुत गर्नुभएको हो ।

‘परफरमेन्स आर्ट’समसामयिक विधा हो । व्यक्तिको आफ्नै कल्पना र सिर्जनामा भर पर्ने यसको श्रेय पनि स्वयं व्यक्तिलाई नै जान्छ । कलाकारको प्रस्तुति अवलोकन गर्दै प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले भन्नुभयो, “साँच्चै नै यो कला अरुभन्दा फरक र समसामयिक छ, छोटो तथा ध्वनि, द्वन्द्वचित्र मिश्रित पनि हुन्छ, स्वयं व्यक्तिको सिर्जना क्षमताले यसको निक्र्योल गर्छ ।”

प्रतिष्पर्धामा १२ कलाकारमध्ये प्रमिला लामाले नेपालको पश्चिमी जिल्लामा हुने छाउपडी प्रथालाई व्यङ्ग्य गर्दै छाउगोठरुपी जालमा जेलिएर बस्न बाध्य चेलीको चित्कारलाई जीवन्त पार्नुभएको छ ।

“देवताका नाममा मान्छे बन्धनमा छ, उसको चित्कारलाई हाम्रो समाजले बुझन् सकेको छैन, ऊ चिच्याउँछे तर उसको आवाज विलिन भएर जान्छ, मेरो कलाको सन्देश यही हो”, लामाले भन्नुभयो ।

“समाजमा कुनै पनि समय धेरै हल्ला भइरहन्छ, र त्यसलाई अनुभव गर्न सक्यो त्यो हल्ला सङ्गीतमा परिणत हुन्छ, सकेन भने हल्लै मात्र बन्छ”, आफ्ना भावभङ्गी कलाबारे क्रिष्टोफरमान सिंहले सुनाउनुभयो । अर्का चित्रकार मुना भडेलले नेपालले पश्चिमा संस्कृति अङ्गालेको कुरालाई बिम्वका रुपमा प्रस्तुत गर्नुभयो ।

हातमा जुत्ता लगाएर नजिक भएका मानिस जसरी हिँड्छ, त्यसैगरी भडेलले आफ्नो कलामा अरुको देखासिकी र लहैलहैमा मानिस हिँडिरहेको सन्देश दिनुभयोे । उहाँले भन्नुभयो, “मानिसले आफ्नो वास्तविक क्षमता प्रदर्शन गर्न सकिरहेको छैन, अरुकै देखासिकीमा हिँडिरहेको छ ।” अर्का कलाकार समीक्षा वाग्लेले अपाङ्गता भएकाको पीडालाई सिर्जनामा उतार्नुभयो ।

भौतिक संरचना अपाङ्गमैत्री नहुँदा कस्तोसम्म समस्या झेल्नुपर्छ भन्ने सन्देश उहाँको थियो । कलाकार इशान परियार, कुशल हमाल, झङ्कार सापकोटा, सन्तोष राईले पनि सिर्जनात्मक कला महोत्सवमा ‘परफरमेन्ट आर्ट’मार्फत सामाजिक सचेतनामूलक कला प्रस्तुत गर्नुभयो ।

विचारको अभिव्यक्तिको यो कला कतिपयलाई रुचि नहुन सक्छ । नाट्य कला र चित्रकलाको ज्ञान नहुन पनि सक्छ । चित्रकार रामकृष्ण थापाले कतिपयका कला जीवन्त हुने बताउनुभयो । उहाँले पश्चिमा कलाबाट भित्रिएको यो कला नाट्य विधासँग मिल्ने र समाजका गतिविधि पनि समेटिएको हुन्छ भन्नुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा बिहीबारदेखि शुरु चारदिने सिर्जनात्मक चित्रकला महोत्सवमा भावभङ्गी कलामार्फत कलाकारले सामाजिक अभिव्यक्ति प्रस्तुत गरेका थिए ।

कलाकारका सिर्जनात्मक क्षमतालाई तिखार्दै प्रोत्साहन गरी कलाको विकास गर्न कार्यक्रम गरिएको विभागका प्रमखु तथा कार्यक्रम संयोजक रमेशनाथ खनालको भनाइ छ । महोत्सवअन्तर्गत चित्रकला कार्यशाला प्रतियोगिता, कार्टुन कार्यशाला तथा प्रतियोगितालगायतका कार्यक्रमसमेत आयोजना गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button