तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा पहिलोपटक सिटीस्क्यान र आइसीयु सेवा शुरु

सप्तरी, ३ फागुन २०७५ । सप्तरीमा पहिलोपटक सिटीस्क्यान र सघन उपचार कक्ष (आइसीयु) सेवा शुरु हुने भएको छ । रुपनी गाउँपालिकास्थित युनिक अस्पतालले सिटीस्क्यान मेसिन जडानकार्य सम्पन्न गरेको अस्पतालका अध्यक्ष जयप्रकाश ठाकुरले जानकारी दिनुभयो । ठाकुरले पाँच भेन्टिलेटरसहितको आइसीयु र पाँच सिसीयुसमेत जडान गरिएको बताउनुभयो ।

मेसिन नहुँदा सप्तरी जिल्लाका गम्भीर प्रकृतिका बिरामी आइसीयु सेवा र सिटीस्क्यान सेवा लिन विराटनगर र धरानस्थित अस्पतालमा जानुपर्ने बाध्यता थियो । गरीब, असहाय र विपन्नवर्गका बिरामीले अन्यत्र जिल्लाको अस्पताल गई महँगो शुल्कमा सिटीस्क्यान गराउन नसक्दा उनीहरू उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य भएको उहाँले बताउनुभयो । आइसीयुको अभावमा ज्यान जोखिममा पर्ने सम्भावना हुने भयले सप्तरीस्थित अस्पतालले बिरामी अन्यत्र जिल्लामा पठाउने गर्ने गरेका छन् ।

६ दशकअघि स्थापना भएको सप्तरीको एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा समेत उपलब्ध हुन नसकेको सिटीस्क्यान र आइसीयु÷सीसीयु सेवा सञ्चालन हुने कुराले सप्तरीवासीलाई खुशी तुल्याएको नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बताउनुभयो ।

मस्तिष्काघातलगायत मस्तिष्कभित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटीस्क्यान मेसिन उपयोगी हुने रेडियोलोजिष्ट डा उज्जवल ठाकुरले जानकारी दिनुभयो ।

जिल्लाका बिरामीलाई आवश्यक स्वास्थ्य सेवा लिन बाहिर जिल्ला जानु नपरोस् भनेर सिटीस्क्यान र आइसीयु सेवा उपलब्ध गराउन खोजिएको डा ठाकुरले बताउनुभयो । सञ्चालक ठाकुरले मुटुरोग, बालरोग, स्त्रीरोग विशेषज्ञ, जनरल सर्जन, जनरल फिजिसियन, अर्थोपेडिक, रेडियोलोजिष्ट, एनेस्थेसिया र छ मेडिकल अधिकृत जुटाइ सेवा विस्तार गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button