तपाईँ सुन्दै हुनुहुन्छः

मानवशास्त्रको पाठ्यक्रममा मुन्दुम विषय पढाई सुरु

खोटाङ । पोखरा विश्वविद्यालय अन्तरगत एमफिल अंग्रेजी विभागको मानवशास्त्रमा मुन्दुम विषय पढाई सुरु गरिएको छ । मानवशास्त्र विषयमा विदेशी मानवशास्त्रीले अध्ययन गरेर लेखेका पुस्तक मात्र अध्ययन अध्यापन भइरहेका बेला पोखरा विश्वविद्यालयले मुन्दुम अध्येता भोगीराज चाम्लिङको संकलन र सम्पादन रहेको श्रृष्टिकथा मुन्दुमः भाग–१ लाई आफ्नो पाठ्यक्रममा समावेश गरेको हो । पोखरा विश्वविद्यालयको आग्रहमा एमफिल अंग्रेजी मानवशास्त्रको कोर्स डिजाईन गर्नेक्रममा मुन्दुमलाई कन्टेन्ट र टेक्स्टबुक सहित रेफर गर्दा स्वीकृत भएर पढाई सुरु भएको डा. विष्णु राईले वताउनुभयो ।

पोखरा विश्वविद्यालयले एमफिल अंग्रेजी विभागको मानवशास्त्रको दोश्रो सेमेष्टरमा मुन्दुमलाई समावेश गरेको हो । मुन्दुम समावेश एमफिल अंग्रेजी विभागको मानवशास्त्रको दोश्रो सेमेष्टरको कक्षा हप्ता दिन अघिदेखि काठ्माण्डौंको बानेश्वरमा सुरु भइसकेको डा.राईले वताउनुभयो ।

मुन्दुमलाई किरातीको सभ्यता, इतिहास, प्रागइतिहास, दार्शनिक दृष्टिकोण, साँस्कृतिक पक्ष लगायतको अध्ययनको प्रमुख आधार मानिन्छ । ‘एमफिल अंग्रेजी विभागको मानवशास्त्रको दोश्रो सेमेष्टरमा पाँच वटा पेपर छन्, त्यसमध्ये एउटा पेपर एन्थ्रोपोलोजी पढाइहुन्छ,’डा.राईले भन्नुभयो यही एन्थ्रोपोलोजीमा मुन्दुम समावेश भएको हो ।’ बिदेसी मानवशास्त्रीले तयार पारेको पुस्तकभन्दा नेपाली अध्येताले अनुसन्धान गरेको मानवशास्त्र अध्ययन गर्न सहज हुने भएकाले पनि मुन्दुमलाई पाठ्याक्रममा समावेश गरिएको राईले बताउनुभयो ।

खोटाङका मुन्दुम अध्येता चाम्लिङले संकलन र सम्पादन गरेको मुन्दुम २०७१ सालमा किरात राई चाम्लिङ खाम्वातिम केन्द्रीय समितिले २०७१ सालमा प्रकाशन गरेको हो । खाम्वातिमले गठन गरेको किरात मुन्दुम (दर्शन) अनुसन्धान तथा अभिलेखीकरण समितिको पहलमा खोटाङकै हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका धामी शिवराज राईलाई श्रोत व्यक्ति बनाएर श्रृष्टि कथा मुन्दुमः भाग–१ तयार पारिएको अध्येता चाम्लिङले वताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button