तपाईँ सुन्दै हुनुहुन्छः

अस्ट्रेलियामा १ हजार नेपाली विद्यार्थी समस्यामा

सिड्नी । अस्ट्रेलियाको सिड्नी, ब्रिसबेन र मेलबर्नमा सञ्चालित व्यवसायिक शिक्षालयमा नर्सिङ विषय अध्ययनरत झन्डै एक हजार नेपाली विद्यार्थी समस्यामा परेका छन् । विद्यार्थीहरूको समस्या समाधान गर्न क्यानबेरास्थित नेपाली दूतावास सक्रिय भएको छ  ।

अस्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदूत दुरपदा सापकोटाले अनलाइनखबरसँग भनिन्, ‘यो समस्या समाधान गर्न हामी अस्ट्रेलियाका सम्बन्धित सरकारी निकायसँग निरन्तर सम्पर्क गरिरहेका  छौं ।’

समस्या समाधानमा सहज बनाउन सम्बन्धित राज्यका नेपाली बाणिज्य दूतावासहरु, एनआरएन तथा काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट अस्ट्रेलिया (सिसा) र पीडित विद्यार्थीहरुसँग आफूले परामर्श पनि गरिरहेको उनले बताइन् ।

छिट्टै उपयुक्त निकास निस्कने आशा व्यक्त गर्दै  उनले पीडित सबै विद्यार्थी तथा उनीहरुका आफन्तहरुलाई धैर्य गर्न आग्रह गरिन् ।

नेपाली बाणिज्य दूतावास न्यू साउथ वेल्सले बिहीबार सरोकार राख्ने सबै पक्षसंग एक बिशेष बैठक राखेको छ भने बिहीबार नै गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले पनि विद्यार्थीका समस्याबारे छलफल राखेको छ । त्यस्तै बिहीबार नै सिसाले दुई घण्टाको लागि अस्ट्रेलियाका सरकारी निकायका प्रतिनिधिसँग विद्यार्थीको अन्तरक्रिया राखेको छ  ।

विद्यार्थीहरूको समस्या  हेरेर आफ्ना गतिविधि अगाडि बढाएको काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट अस्ट्रेलिया (सिसा)का अध्यक्ष विजय सापकोटाले पनि अस्ट्रेलियाका सरोकारवाला  सरकारी निकाय सक्रिय भएकाले अबको केही दिनभित्र समाधानको बाटो भेटिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button