तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले सगरमाथा संवाद आयोजना गर्ने

अच्युत । सरकारले अन्तराष्ट्रिय र समान चासोका विषयमा छलफल गर्न नियमित रुपमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ ।

यही बैशाख २ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले अन्तराष्ट्रिय सम्बन्धलाई थप मजवुत बनाउन र नेपालको चासो विश्व समुदाय माझ राख्न सगरमाथा संवाद प्रभावकारी हुने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले गत वर्ष शुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई निरन्तराता दिइएको र यस वर्ष सबै बालबालिकालाई विद्यालय पठाउँ नेपाललाई शिक्षित देश बनाउन भन्ने नाराका साथ बैशाख २ गतेदेखि १६ गतेसम्म भर्ना अभियान सञ्चालन हुने र तीनवटै तहका सरकारले सञ्चालन गरेको विद्यार्थी भर्ना अभियानमा सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको बताउनुभयो ।

मन्त्रिपरिषद बैठकले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ स्वीकृत गरेको र निर्देशिकामा प्रहरी हवलदारसम्मलाई खाइपाइ आएको तलबको ४० प्रतिशत, सइ र असइलाई २० प्रतिशत र इन्स्पेक्टर र डिएसपीलाई १० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रिपरिषद बैठकले काठमाडौंको नागढुङ्गा र रसुवाको रसुवागढीमा अस्थायी पशु क्वारेन्टाइन चेकपोष्ट स्थापना गर्ने निर्णय गरेको छ ।

बैठकले बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक, खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

यसैगरी बैठकले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक, नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र वन सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button