तपाईँ सुन्दै हुनुहुन्छः

बैँकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ: अर्थमन्त्री

विराटनगर । अर्थमन्त्री डा युवराज खतिवडाले विकासका साझेदार बैंकले व्यावसायिक र सामाजिक उत्तदायित्व बहन गर्नुपर्छ भन्नुभएको छ । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं–१ द्वारा आज यहाँ आयोजित कृषिलगायत सहुलियत कर्जा वितरण समारोहमा ऋणीलाई ऋण वितरण गर्दै उहाँले उत्पादनशील र पूँजी निर्माण हुने क्षेत्रमा बैँकले लगानी गर्नुपर्छ भन्नुभयो ।

‘‘बैंकले आफ्नो कारोबार बढाउनुपर्छ र यसैबाट पूँजीको चलायमान हुन्छ’’, मन्त्री खतिवडाले भन्नुभयो ‘‘व्यवसायी र बैंक दुबै सँगै अगाडि बढ्नसके सफलता प्राप्त गर्न सकिन्छ ।’’ उहाँले समयको प्रतिस्पर्धामा नेपाल बैंक लिमिटेडलाई लैजानुपर्ने सुझाव दिनुभयो ।

बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले रोजगार तथा आयमूलक व्यवासाय सञ्चालन गर्नेलाई बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ऋणि सुधा पासवान र विनोद अधिकारीले बैंकको लगानीबाट हाम्रो व्यवसाय दिनप्रतिदिन मौलाउँदै गएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा महिला उद्यमशीलता, कृषि तथा पशुपक्षी व्यवसाय गर्ने नौ जनालाई रु १० लाखदेखि रु १५ लाखसम्मको कर्जा वितरण गरियो ।
(रासस)

प्रतिक्रिया राख्नुहोस्

Back to top button