तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारी चीनको राजकीय भ्रमणमा जानुहुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा यही बैशाख ११ गते चीनको राजकीय भ्रमणमा जानुहुने भएको छ ।

चीन भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा हुने बी.आर.आई को दोस्रो शिखर सम्मेलनको उद्घान समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारी र चीनका राष्ट्रपति सीबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुने र वार्तापछि पारस्परिक सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटन समारोहमा सरिक हुनुहुनेछ । उहाँले त्यहाँ रहेको नेपाली मण्डलको अवलोकन गर्नुहुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारी चीनका राष्ट्रपति सीले आयोजना गर्नुहुने भोजमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले भ्रमणका क्रममा वरिष्ठ चिनीयाँ नेताहरुसँग भेटवार्ता गर्नुका साथै नेपाल र चीनका व्यवसायीहरुको बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति भण्डारीले चीनको शान्शी प्रान्तको राजधानी र स्वदेश फर्कने क्रममा चीनको स्वशासित क्षेत्र चिव्वतको राजधानी ल्हासाको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसद्का सांसद, उच्चपदस्थ सरकारी पदाधिकारी, चीनका लागि नेपाली राजदूत र निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी चीनको राजकीय भ्रमण पूरा गरी यही वैशाख १९ गते स्वदेश फर्कनुहुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button