तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकले सुशासन र विकासको बाटो समात्योः प्रधानमन्त्री ओली

डायलसन अधिकारी, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले सुशासन र विकासको बाटो समातेको बताउनुभएको छ ।

जितगढी उत्सव विशेष समारोहलाई आज बुटवलमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल दुनियाँको गरीब देश हो भन्ने पहिचान बदल्ने आफ्नो अभिष्ट रहेको भन्दै समृद्ध नेपाल सुखी नेपाली नारा त्यसैका लागि अघि सारिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले धर्मका नाममा वा अन्य राजनीतिका नाममा संविधान विपरीत र अपराधिक क्रियाकलाप गर्न नपाइने पनि स्पष्ट पार्नुभयो ।

नेपाली सेनाको प्रशंसा गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाली सेनालाई वंश र व्यक्तिसँग जोडेर हेर्न नहुने बताउनुभयो ।

समारोहमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जितगढी जस्तै नेपालले युद्ध जितेका स्थानहरुको संरक्षण र विकास गर्ने अभियान जितगढीबाट शुरु भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी लगायतले जितगढीलाई ऐतिहासिक सम्पदा र पर्यटकीय स्थलका रुपमा विकास गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले तत्कालीन युद्धको नेतृत्व गर्ने कर्णेल उजीर सिंह थापाको पुर्ण कदको शालिकको अनावरण गर्नुका साथै राष्ट्रिय झण्डाको झण्डोेत्तोलन गर्नु भएको थियो ।

वि.सं १८७२ मा नेपाल र अंग्रेजबीच युद्ध हुँदा कर्णेल थापाको नेतृत्वको नेपाली फौजले बुटवलको जीतगढी किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको खुशीयालीमा गत वर्षदेखि बैशाख ७ गतेलाई जीतगढी उत्सवका रुपमा मनाउन लागिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button