तपाईँ सुन्दै हुनुहुन्छः

दृश्यावलोकन स्तम्भ निर्माणका लागि समय थप

काठमाडौँ । काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ । निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि हालसम्म जमीनमुनिकै काम गरिरहेकाले ठेकेदारको माग अनुरुप समय थप गरिएको कामपाले जानकारी गराएको छ । निर्माणको कामअन्र्तगत अहिले जमीनमुनिको काम भइरहेको छ । जमीनमुनिको ८० प्रतिशत काम सकिएपनि अन्य काम शुरु नै हुन नसकेको कामपा सार्वजनिक निजी साझोदारी एकाइ प्रमुख धु्रव काफ्ले बताउनुहुन्छ । उहाँका अनुसार आवश्यकता अनुरुप एक वर्षको समय थप गरिएको हो । भूमिगत तलाको काम अन्तिम चरणमा पुगेको छ । प्राइभेट–पब्लिक पार्टनरसीप (पीपीपी)मोडलबाट निर्माण यस भ्यू टावरको उपराष्ट्रपति नन्दबहादुर पुनबाट शिलान्यास गरी निर्माण कार्य शुरु गरिएको थियो । “नियमअनुसार निर्धारित समयमा नै काम नसकेमा एक पटक समय थप्न मिल्छ”, कामपा सार्वजनिक निजी साझोदारी एकाइ प्रमुख काफ्लेले भननुभयो । स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोइले विसं २०७३ साउनबाट निर्माणको काम शुरु गरेको हो । शुरु गरेको मितिले अहिलेसम्म हुनुपर्ने जति कामको प्रगति नदेखिएपनि पछिल्लो समय तीव्र रुपमा काम भइरहेको र यसरी नै काम हुने भए थप गरिएको समयका काम सकिनेमा कामपाले विश्वास लिएको छ । सम्झौतानुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् । काफ्लेका अनुसार उक्त स्तम्भ निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि निर्माणसम्बन्धी फरक निर्णय हुँदा केही समय काम गर्ने वातावरण थिएन । अहिलेभने काम भइरहेको छ । निर्माण कम्पनीले कामपालाई शुरुको समयदेखि नियमित रुपमा बुझाउनुपर्ने सम्झौता रकम भने दिइरहेको छ । उक्त कम्पनीले वार्षिक रु ९८ लाख कर कामपालाई बुझाउँदै आएको छ । गोरखा भूकम्पपूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाउनुपर्नेछ । स्तम्भ निर्माणको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ । स्तम्भको सबैभन्दा तल्लो तलामा बसको पार्किङस्थल रहनेछ । त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङस्थल, व्यवस्थित चलचित्रघर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सो अग्लोघर नेपाली कलासंस्कृति झल्किने खालको हुनेछ । कुल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजना छ । कामपा र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार निर्माणपछि कम्पनीले वार्षिक रु दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जान्छ । तीन वर्षदेखि निर्माण शुरु गर्ने योजनाले गर्दा बस बिसौनीबाट आवतजावत गर्ने सवारी साधनलाई खुला मञ्चमा सारिसकिएको छ । बस बिसौनी जस्तो फराकिलो नभएको हँुदा मानिस खुला मञ्चमा खुम्चिएर आवतजावत गर्न बाध्य भएका छन् । आगामी दिनमा काठमाडौँ उपत्यकाका विभिन्न १७ रुटमा चल्ने गाडीहरु निर्माणाधीन दृश्यावलोकन स्तम्भमा निर्माण हुने बस बिसौनीबाट आवत जावत गर्नेछन् ।

-रासस

Read more at: http://radionepal.gov.np/news-details/26249/2019-04-21
Follow us: @radionepal on Twitter | @radionepal on Facebook

प्रतिक्रिया राख्नुहोस्

Back to top button