तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको मोदीमा कोशेली घर स्थापना

रोशन तिवारी । लघु तथा घरेलु उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको देश विदेशमा सहज विक्री गर्न पर्वतको मोदीमा कोशेली घर स्थापना गरिएको छ ।

जिल्लाका ग्रामीण क्षेत्रमा रहेका उद्यमीहरुले उत्पादन गर्ने अल्लो, ढाका र बाँसजन्य बस्तुहरुको सहज विक्री गर्नका लागि मोदी गाउँपालिका– ६ पातीचौरमा कोशेली घर सञ्चालन गरिएको हो ।

पोखरा– बागलुङ राजमार्ग हुँदै देशका विभिन्न ठाउँमा पुग्ने विदेशी पर्यटक र अन्नपूर्ण पदमार्गमा आउने पर्यटकहरुलाई पातीचौरमा सञ्चालन गरिएको कोशेली घरबाट उद्यमीले उत्पादन गरेका घरेलु उत्पादनहरु सहज विक्री हुने उद्यमीहरुले बताएका छन् ।

पर्वतको कुश्मा नगरपालिका, मोदी र जलजला गाउँपालिकाको लेकाली बस्तीका महिलाहरुले उत्पादन गरेका अल्लो तथा ढाकाको कपडा, जुता, कोट, ज्बारी कोट, साडी, मुडा, सिस्नो धुलो, लप्सीको अचार, अदुवाको अचार र क्याण्डी लगायतका सामाग्रीहरु राखिएको छ ।

कोशेली घर गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले कोशेली घरको आईतबार उद्घाटन गर्दै निर्वाहमुखी खेती र सानो परिमाणको उत्पादनले कहिल्यै पनि आर्थिक प्रगति गर्न नसकिने उल्लेख गर्दै घरेलु तथा लघु उद्यमलाई व्यावसायिक बनाईने गरी सरकारले बजेट विनियोजन गरेको बताउनु भयो ।

मन्त्री लम्सालले प्रदेशका तीन स्थान मुग्लिन, पोखरा बिमानस्थल र राम्दीमा कोसेली घर सञ्चालन गर्न प्रदेश सरकारले ६० लाख रुपैया बजेट विनियोजन गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button