तपाईँ सुन्दै हुनुहुन्छः

ब्याज अनुदानसम्बन्धी एकीकृत पहिलो संशोधन कार्यविधि २०७५ स्वीकृत

अच्युत अर्याल । सरकारले बारा र पर्सा जिल्लाका हावाहुरी पीडितहरुका लागि नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

पछिल्लो मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले बारा र पर्साका हावाहुरी पीडितहरुलाई मध्य वर्षाअघि नै छानामूनि ल्याउने उदेश्यले नेपाली सेनालाई रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्री बास्कोटाले भूकम्प पीडितलाई प्रदान गरिने राहतमा केही समस्या देखिएकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत पहिलो संशोधन कार्यविधि, २०७५ स्वीकृत गरेको बताउनुभयो ।

बजेट तर्जुमाका लागि सात वटै प्रदेशमा प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली प्रयोगमा ल्याउन स्वीकृति दिएको र यसले संघ तथा प्रदेशमा बजेट अनुशासन कायम गर्ने मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

बैठकले राष्ट्रपतिको जारी चीन भ्रमणका क्रममा दुई देशका भन्सार प्रशासनबीच सहायोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्नुका साथै नेपाल र चीनबीच साँस्कृतिक र पुरातात्विक बस्तुको उत्खनन, चोरी पौठारी र निकासीलाई निरुत्साहित गर्ने समझदारीमा हस्ताक्षरका लागि स्वीकृति दिनुका साथै नेपाल सरकारलाई चीन सरकारबाट प्राप्त हुने करिब १६ अर्व ८० करोड सहायता स्वीकार गर्ने र गुणस्तरसम्बन्धी सहयोगमा नेपाल र चीनबीच हस्ताक्षर हुने समझदारी पत्र स्वीकृत गरेको मन्त्री बाँस्कोटाले बताउनुभयो ।

बैठकले आगामी मेमा हुने राष्ट्रपति नन्द बहादुर पुनको अष्ट्रिया भ्रमण स्वीकृत गरेको छ ।

सरकारले प्रदेश नम्बर १, कर्णाली र सुदुरपश्चिम प्रदेशलाई जम्मा ९६ वटा एम्बुलेन्स खरिदमा १ प्रतिशत भन्सार महसुल लिई बाँकी भन्सार महसुल छुट दिने र ती एम्बुलेन्सहरु भन्सार छुटमा एम्बुलेन्स आयात नगरेका र एम्बुलेन्स नभएका स्थानीय तहका सरकारी स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताललाई वितरण गरिने मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकले उपलब्ध गराउने करिब २ अर्व ६५ करोड रुपिया अनुदान सहायता स्वीकृत गर्न वार्ता टोली गठन गरी विकास सहायता नीति बमोजिम बैकसँग वार्ता गर्न अख्तियारी दिएको छ ।

बैठकले कतारका लागि नेपाली राजदुत प्राध्यापक रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाउने, नेपाली सेनाका उपरथी गौरव तण्डुललाई रथी दर्जामा, प्राविधिक सहायक रथी डाक्टर सुनिल कुमार सिंहलाई प्राविधिक उपरथी दर्जामा र ५ जना महासेनानीलाई सहायक रथीमा पदोन्नती गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button