तपाईँ सुन्दै हुनुहुन्छः

विकासमा क्षेत्रगत लगानी बढाउन व्यवसायीलाई आव्हान

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले, नेपालको विकासमा क्षेत्रगत लगानी बढाउन निजी क्षेत्रका उद्योगी व्यवसायीलाई आव्हान गर्नु भएको छ ।

पद्मा मिडिया गु्रपले शुक्रबार राजधानीमा आयोजना गरेको नेपाल सिईओ सम्मेलन २०१९ को उद्घाटन कार्यक्रमका मन्त्री पुनले नेपालको समृद्धिमा निजी क्षेत्रको लगानी बढाउन सरकार लगानीमैत्री वातावरण बनाउन सधैं तयार रहेको बताउनु भयो ।

सरकार १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गरी आत्मनिर्भरको बाटोमा अघि बढेको भन्दै मन्त्री पुनले जलविद्युतको क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालको विकासमा विदेशी लगानीको भन्दा स्वदेशी लगानीकै आवश्यकता रहेकोमा जोड दिंदै त्यसका लागि सरकारले आवश्यक वातावरण बनाइ दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपाका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले सरकारले स्वदेशी लगानीका लागि भरपर्दा वातावरण बनाउन नसकेको, विदेशी लगानीकर्तालाई प्राथमिकता दिएको आरोप लगाउँदै लगानी वातावरण बनाउन सरकारको स्पष्ट नीति आवश्यक भएकोमा जोड दिनु भयो ।

राष्ट्यि सभा अन्तर्गतको प्रत्यायोजन व्यवस्थापन समितिका सभापति रामनारायण विडारीले प्राकृतिक श्रोत र हावापानीले नेपालमा उपयुक्त वातावरण हुँदाहुँदै पनि नेपालको विकास हुन नसक्नुमा कारण खोज्न सरकारलाई आग्रह गर्नुभयो ।

राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर राणा, सांसद हृदयेश त्रिपाठी, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी तथा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले समृद्ध सरकारले अघि सारेको समृद्ध नेपालको नारालाई सफल बनाउन निजी क्षेत्रको साथ रहने भन्दै लगानीको वातावरण थप सहज बनाइ दिन सरकारलाई आग्रह गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button