तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच आज बेइजिङ्स्थित ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठकपछि उहाँहरुको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ ।

जसअनुसार, दुई देशबीच पारवहन तथा यातायात सम्झौता कार्यान्वयनको सहमतिमा हस्ताक्षर भएको थियो । सहमतिमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका तर्फबाट त्यहाँका यातायातमन्त्री ली सियाओपेङले हस्ताक्षर गर्नुभयो ।

यसैगरी, चिनियाँ सहयोगमा बनेका विद्यमान परियोजनाका मर्मत तथा सबलीकरणका लागि अनुदान र सहयोगपत्र हस्तान्तरणमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री ज्ञवाली तथा चिनियाँ वाणिज्यमन्त्री झोङ शानले हस्ताक्षर गर्नुभयो ।

आर्थिक तथा प्राविधिक सहयोग सम्झौता तथा नेपालको उत्तरी क्षेत्रमा जीविकाका क्षेत्रमा सहयोग सम्बन्ध सबलीकरणका विषयमा अर्थ मन्त्रालयका राजश्व सचिव लालशङ्कर घिमिरे र चाइना इन्टरनेशनल डेभलपमेण्ट कोअपरेशन एजेन्सीका वाङ सिआवतावले हस्ताक्षर गर्नुभयो ।

यस्तै, भन्सारका विषयमा आपसी प्रशासनिक सहयोगमा राजश्व सचिव घिमिरे तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले हस्ताक्षर गर्नुभयो ।

नेपाल गुणस्तर विभाग तथा स्ट्याण्डर्ड एण्ड मेट्रोलोजी एण्ड स्ट्याण्डर्डाइजेशन एडमिनिष्ट्रेशन अफ चाइनाबीच सहयोगको सहमतिपत्रमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल तथा नेपालका लागि चिनियाँ राजदूत होउले हस्ताक्षर गर्नुभयो ।

सांस्कृतिक सम्पत्तिको चोरी, गोप्य उत्खनन, गैरकानूनी आयात तथा निर्यात प्रतिबन्ध लगाउने सम्झौतामा राजदूत पौड्याल र चीनको एडमिनिष्ट्रेशन अफ नेशनल कल्चरल हेरिटेजका लियु युझुले हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button