तपाईँ सुन्दै हुनुहुन्छः

विप्लवका बिद्यार्थी नेता रुकुममा पक्राउ

रुकुम। नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओबादीको भ्रातृसंगठन अखिल क्रान्तिकारी रुकुम पश्चिमका उपाध्यक्ष प्रेमप्रशान्त बोहरा पक्राउ परेका छन् ।
रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका सिम्रतुको एक होटलबाट उनलाई हिजो पक्राउ गरिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरिक्षक सुमित खड्काका अनुसार प्रतिबन्धित नेकपा पार्टीको गतिबिधिमा संलग्न भएसँगै चन्दा आतंक मचाएकोमा उनलाई पक्राउ गरिएको हो । बोहरालाई सार्वजनिक अपराध कसुरमा मुद्दा चलाएर थप अनुसन्धान भैरहेको बताईएको छ ।
केही समयअघि मात्र बिद्यार्थी नेता हरि पुन सहित २ जना पक्राउ परेका थिए । उनीहरुलाई केही समय हिरासतमा राखेर अनुसन्धान गरिए पनि हाल छोडिसकिएको प्रहरीले बताएको छ ।
रुकुम पश्चिममा बिप्लव नेतृत्वका बिद्यार्थी नेताहरु पक्राउ परेपनि पार्टीका कुनैपनि उच्च नेतृत्वहरु पक्राउ भने परेका छैनन् । सरकारले बिप्लव नेतृत्वको समुहलाई प्रतिबन्ध लगाएसँगै उनीहरु भूमिगत भएका हुन् । रुकुम पश्चिममा चन्द्रबहादुर बुढा नेकपाका सेक्रेटरी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button