तपाईँ सुन्दै हुनुहुन्छः

ढुक्क भएर नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर पुँजी परिचालन गर्न आग्रह गर्नुभएको छ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)उद्योग वाणिज्य सङ्घको ७७ औँ बैठकमा भाग लिने सिलसिलामा काठमाडौंमा रहेका सङ्घका पदाधिकारीहरूसँग आज प्रधानमन्त्री निवासमा भएको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले प्रत्यक्ष वैदेशिक लगानीका निम्ति सरकारले अनुकूल वातावरण बनाएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले वैदेशिक लगानीको सुरक्षा, प्रतिफल स्वदेश लैजाने सुनिश्चितता गरिएको जानकारी दिनुहुँदै निजी क्षेत्रलाई देशको औद्योगिक विकासमा लाग्न सदैव प्रेरित गरिएको बताउनुभयो ।

नेपालले मात्र नभई दक्षिण एशियाका देशले आर्थिक विकास र उन्नतिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुहुँदै प्रधानमन्त्री ओलीले समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली आफ्नो चाहना भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button