तपाईँ सुन्दै हुनुहुन्छः

सिमेन्ट उद्योगलाई निर्यातजन्य उद्योग बनाउने घोषणा

काठमाडौं । सरकारले सिमेन्ट उद्योगलाई देशको प्रमुख निर्यातजन्य उद्योग बनाउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्ततु गरेको नीति तथा कार्यक्रममा सिमेन्टलाई प्रमुख निर्यातयोग्य वस्तु बनाउने उल्लेख गरिएको छ ।

नेपालमा यो वर्ष मात्र १ करोड ४० लाख टन सिमेन्ट उत्पादन गर्न सक्ने अवस्था रहेको छ । त्यस मध्ये नेपालमा आन्तरिक खपत ९५ लाख टन हुन्छ ।

त्यस हिसाबले पनि आगामी आर्थिक वर्षमा नै नेपालले करिब ५० लाख टन सिमेन्ट निर्यात गर्न सक्ने अवस्था रहेको छ ।

नेपाली सिमेन्टको अझै पनि प्रतिस्पर्धी मुल्य कायम हुन नसकेकोले सरकारले सिमेन्टको लागत मूल्य घटाउन सक्दा यो वर्ष नै नेपालले सिमेन्ट निर्यात गर्न सक्ने अवस्था रहेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धुब्र थापाले बताउनु भयो ।

महंगो बिजुली, आयातित कोइला र ढुवानीको लागत महंगो हुनु जस्ता कारणले नेपाली सिमेन्ट अझै पनि भारतमा भन्दा प्रति बोरा सय रुपैयाँ महँगो रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारकाले सरकारले केही नीतिगत सुधार गरेको खण्डमा आगामी वर्ष नेपाली सिमेन्ट निकासी गर्न सकिने अवस्था रहेको बताउनु भयो ।

आगामी वर्षदेखि सरकारले बिजुली निर्यात गर्ने तयारी गरेको अवस्थामा बिजुली निर्यात गर्ने मूल्यमा नेपाली सिमेन्ट उद्योगलाई नै बिक्री गर्दा सिमेन्टको मूल्य घटेर मूल्य प्रतिस्पर्धी हुन सक्ने उद्योगीहरुको भनाई छ ।

नेपालमा सरकारी र निजी क्षेत्र गरेर करिब १ सय १३ सिमेन्ट उद्योगहरु दर्ता छन । दर्तामध्ये झण्डै ६५ वटा उद्योग सञ्चालनमा छन ।

सिमेन्ट उद्योगमा दुई खर्ब भन्दा बढी लगानी भइसकेको छ । हाल सञ्चालनमा रहेका १४ वटा सिमेन्ट उद्योगहरुमा तत्कालै सिमेन्ट निर्यात गर्न सक्ने क्षमता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button