तपाईँ सुन्दै हुनुहुन्छः

विकास र उन्नतिका लागि सम्पूर्ण प्रयास केन्द्रितः प्रधानमन्त्री ओली

प्रमोद । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक विकास र उन्नतिका लागि सरकारले सम्पूर्ण प्रयास केन्द्रित गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज पत्रकारहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले सरकारले आफ्ना कुनै पनि कुरालाई अपारदर्शी र अन्योलमा राख्न नचाहेको र लोकतन्त्र, शान्ति, स्थायीत्व, सुशासन, प्रेस स्वतन्त्रता तथा मानवाधिकार र जनताका आधारभूत आवश्यकता पूरा गर्न अनुकुल वातावरण बनाउँदै अघि बढिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले लिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न गति बढाउनुपर्ने आवश्यकता औल्याउदै राष्ट्रिय हित, सार्वभौमिकता, राष्ट्रिय अखण्डता र नेपाली जनताको विकासको चाहनमा केन्द्रित नीतिको विरोध गर्नु उचित नभएको प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले आकर्षक रोजगारीका अवसरको सिर्जना गर्न र राष्ट्रिय भावनाका साथ देशभित्रै केही गर्नुपर्छ भन्ने परिस्थितिको निर्माणका लागि सरकारले आवश्यक व्यबस्था मिलाउने बताउनुभयो ।

उहाँले विकास खर्च बढाउन सार्वजनिक खरिद लगायतका प्रक्रियाहरुमा सुधार, ढिलासुस्तीको अन्त्य र हाम्रो आफ्नै सामथ्र्यको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

एक प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनी गर्नुभएको सम्बोधन अन्तर्राष्ट्रिय प्रचलन भएको र संविधानको संरक्षक र राष्ट्रको अभिभावक राष्ट्रपतिलाई होच्याउनु भनेको व्यबस्था र प्रणाली नबुझेको हो, भन्नुभयो ।

प्रधानमन्त्री ओलीले बेरुजु र भ्रष्टचारलाई छुट्याएर हेर्नुपर्छ भन्नुहुँदै भ्रष्टचार सरकारलाई सह्य नहुने र अनुगमनमाथि अनुगमन हुने प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रको सम्पति हिनामिना हुन नदिने र अतिक्रमित सार्वजनिक जग्गाको खोजी जारी रहेको तथा सार्वजनिक जग्गा कुन सरकारको पालामा व्यक्तिका नाममा गयो भन्ने कुरा समय क्रममा खुल्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button