तपाईँ सुन्दै हुनुहुन्छः

नीति तथा कार्यक्रममाथि छलफल जारी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि सरकारको आगामी आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रमाथि छलफल जारी रह्यो ।

बैठकमा सत्तापक्षीय दलका सांसदहरुले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको स्वागत गर्दै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पुरा गर्न वस्तुनिष्ठ र वैज्ञानिक ढंगबाट नीति तथा कार्यक्रम आएको बताउनुभयो ।

उहाँहरुले प्रत्येक कार्यक्रम कहिलेसम्म सम्पन्न गर्ने भनेर स्पष्ट खाकासहित आएको नीति तथा कार्यक्रम प्रगतिशिल रहेको बताउनु भयो ।

सत्तापक्षीय सांसदहरुले नीति तथा कार्यक्रममा आएका सकारात्मक कुराहरु आगामी वजेट मार्फत प्रभावकारी रुपमा अघि बढाउन सके समाजबादको यात्रामा अघि बढ्न आधार तयार हुने बताउनु भयो ।

छलफलमा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले अघिल्ला वर्ष घोषणा गरिएका कार्यक्रम के कति पुरा भए त्यसको जानकारी नदिई अवैज्ञानिक तरिकाबाट युरेनियमदेखि रेलमार्गसम्मका छरपष्ट आयोजना घोषणा गरेको टिप्पणी गर्नुभयो ।

उहाँहरुले ‘मेरो सरकार’ भन्न लगाएर राष्ट्रपतिलाई विवादमा तानेको र गणतन्त्रको उपहास गरेको आरोप लगाउदै सरकार काम भन्दा प्रचार र प्रोपोगाण्डामा लागेको धारणा राख्नुभयो ।

यसैगरी छलफलमा भाग लिदैं मधेशवादीदलका सांसदहरुले सरकारको वार्षिक नीति तथा कार्यक्रम परम्परागत शैलीमा आएकाले त्यसले मधेशी जनताको हितमा कार्यक्रम दिन नसकेको बताउनु भयो ।

उहाँहरुले नीति तथा कार्यक्रमले सवै क्षेत्रलाई समेट्न नसकेको भन्दै आयोजनाहरु केन्द्रमा नै राखेको आरोप लगाउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने छ ।

यसैगरी, राष्ट्रियसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ भयो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम माथीको छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

छलफलमा भाग लिदै प्रतिपक्षि दलका सांसदहरुले सरकारको नीति तथा कार्यक्रम गत बर्षकै निरन्तरता मात्र रहेको धारणा व्यक्त गदैं जनताका लागि नयाँपन नभएको बताउनु भयो ।

उहाँहरुले केन्द्र र स्थानीय सरकार बिचको अधिकार बाँडफाँडमा स्पष्टता नल्याएर सरकारले तल्लो तहका निकायको अधिकारमा हस्तक्षेप गरेको आरोप लगाउनुभयो ।

छलफलमा सत्तापक्षिय सांसदहरुले नीति तथा कार्यक्रम मार्फत सरकारले योजनाबद्ध रुपमा देशलाई बिकास र समृद्धि तर्फ डोर्याएको बताउदै यसले जनताको जीवन स्तर उकास्न सहयोग पुग्ने बताउनु भयो ।

यसअघि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नीति तथा कार्यक्रममा तीनवटा संशोधन प्रस्ताव दर्ता भएको जानकारी गराउदै संशोधन प्रस्ताव कर्ताहरुलाई बोल्न समय दिनुभएको थियो ।

बैठकमा संशोधनकर्ता सांसदहरु राधेश्याम अधिकारी, बृशेषचन्द्र लाल र रमेश प्रसाद यादवले नीति तथा कार्यक्रममा मेरो सरकारको सट्टा नेपाल सरकार राख्नु पर्ने लगायतका संशोधनका बुँदाहरुको व्याख्या गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button