तपाईँ सुन्दै हुनुहुन्छः

एकल विन्दु सेवा केन्द्र सञ्चालनमा

काठमाडौं । उद्योग दर्ता लगायतका प्रशासनसँग सम्बन्धित सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले सरकारले बुधवारदेखि एकल विन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

त्रिपुरेश्वरस्थित उद्योग विभाग परिसरबाट सञ्चालनमा ल्याइएको एकल विन्दु सेवा केन्द्रको बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले शुभारम्भ गर्नुभयो ।

केन्द्रबाट कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट भइरहेको कम्पनी, फर्म, उद्योग दर्ता, अनुमति, इजाजत, स्थापना, नवीकरण, कारोबार अनुमति, क्षमतावृद्धि र बहिर्गमन लगायत सेवा प्रदान गरिनेछ ।

केन्द्रले विदेशी लगानीकर्ता तथा कामदारलाई श्रम स्वीकृति तथा प्रवेशाज्ञा उपलब्ध गराउने, उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातमा सहजीकरण गर्ने तथा आयात अनुमति लिनुपर्ने मालवस्तु भएमा सबै प्रकारका अनुमति दिने एवं सोका लागि सिफारिस गर्ने, उद्योग स्थापना गर्न प्रारम्भिक वातावरणीय परीक्षण स्वीकृत गर्ने लगायतका काम गर्नेछ ।

कार्यक्रममा उद्योगमन्त्री यादवले मुलुकमा लगानीको वातावरण बनाउन र लगानीकर्तालाई सरल र सहज रुपमा सेवा प्रवाह गर्न केन्दले सहयोग हुने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button