तपाईँ सुन्दै हुनुहुन्छः

रेडक्रसले बनायो भूकम्प पीडितका पाँच सय घर

ओखलढुंगा । ओखलढुंगामा नेपाल रेडक्रस सोसाईटीले ५ सय १ निजी आवास निर्माण गरेको छ । रेडक्रसले जिल्लाका साविकका ३ वटा गाविस प्राप्चा, हर्कपुर र बर्णालुका भूकम्प पीडितका घर बनाईदिएको हो ।

नेपाल सरकार पूनर्निर्माण प्राधिकरणको सिफारिसमा रेडक्रसले आफ्नै लगानी र प्राविधिक सहयोगमा भूकम्प पीडितका घर बनाईदिएको रेडक्रस जिल्ला सभापति सुमन राजभण्डारीले बताउनुभयो । रेडक्रसले जिल्लामा ८ सय ३५ घर बनाउने लक्ष्य राखेको भएपनि विविध कारण ५ सय १ वटा घर मात्रै बनाएको सभापति राजभण्डारीको भनाई छ । ‘हामीले काम गरेको ठाउँका सबै भूकम्प पीडितका घर बनाईदिने योजना थियो । उहाँहरु कतिपयको जग्गा नभएको र प्राधिकरणको मापदण्ड अनुसार किस्ता लिन कागजात नमिलेको अझ धेरै त विदेशमा बस्ने भएकाले उहाँहरुको घर बनाईदिन सकेनौं,’ सभापति राजभण्डारीले भन्नुभयो ।

सिद्धिचरण नगरपालिकाको बर्णालु र मोलुङ गाउँपालिकाको प्राप्चा र हर्कपुरका भूकम्प प्रभावितलाई नेपाल सरकारको निति अनुसारको किस्ता रकम समेत रेडक्रसले नै उपलब्ध गराएको थियो । त्यस अघि विभिन्न चरणमा १० हजार र १५ हजार नगद सहितका राहत समेत रेडक्रसले उपलब्ध गराएको सिद्धिचरण नगरपालिका ४ वर्णालुका वडा अध्यक्ष कुलप्रसाद दाहालले बताउनुभयो । गाउँमा खानेपानी र सिँचाई आयोजना, स्वास्थ्यका भवन निर्माण र स्वरोजगारका कार्यक्रम समेत रेडक्रसले सञ्चालन गरेर सहयोग गरेको वडा अध्यक्ष दाहालको भनाई छ ।

आईएफआरसीको सहयोगमा रेडक्रसले ओखलढुंगामा भुकम्प प्रतिकार्य कार्यक्रम सञ्चालन गरेको थियो । सम्झौता अनुसार कार्यक्रम सकिएपछि बनेका संरचना र भएको उपलब्धि स्थानीय सरकारलाई हस्तान्तरण गरिएको रेडक्रस ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button