तपाईँ सुन्दै हुनुहुन्छः

आगामी बजेटले विकासको गति बढाउँछः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटले देश विकासको गति बढाउने बताउनु भएको छ ।

धादिङको गल्छीमा आज मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शुभारम्भ गर्नुहुंदै प्रधानमन्त्री ओलीले यही जेठ १५ मा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटले देश विकासको गतिलाई तीव्रता दिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथरदेखि अन्तिम विन्दु बैतडीसम्म सुचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोग पुग्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले विकासका साथै शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा सामान्य सुधार मात्र नभइ आमूल परिवर्तन गर्न चाहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले २०३८ सालपछि सबै भन्दा बढी आर्थिक बृद्धिदर यसै वर्ष भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले केही वर्षभित्रै नेपाललाई तीव्र विकास हुने देशमा रुपान्तरण गर्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशका आधाभन्दा बढी जनता इन्टरनेटको पहुँचबाट टाढा भएकाले इन्टरनेटसँगको पहुँचसँग जोड्न ‘ब्याकबोन’ परियोजना सञ्चालन गरिएको बताउनु भयो ।

पाँचथरको चिवा भञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने गरी नेपाल टेलिकमले योजना सुरु गरेको छ ।

यसैगरी, आजै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि अप्टिकल फाइबर बिछ्याउने कार्यको औपचारिक शुरुवात गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button