तपाईँ सुन्दै हुनुहुन्छः

विकासका परिसूचकहरु उत्साहजनक

काठमाडौं । चालु आर्थिक वर्षमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेको आर्थिक सर्वेक्षणले देखाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५–७६ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा आएको सुधार, विद्युतको नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासका गतिविधि बढेको कारण समेत अर्थतन्त्र उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढेको बताउनुभयो ।

चालु आर्थिक वर्षको फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको र आर्थिक वर्ष २०७५–७६ मा ७ प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान सर्वेक्षणमा गरिएको छ ।

सर्वेक्षणमा उच्च आर्थिक वृद्धि, सामाजिक तथा आर्थिक पूर्वाधारमा भएको लगानी र विप्रेषण आप्रवाहमा रहेको वृद्धिका कारण गरिबी क्रमिक रूपमा घट्दै गएको छ । निरपेक्ष गरिबीको रेखामुनी रहेका जनसङ्ख्या १८.७ प्रतिशत झरेको अनुमान गरिएको छ ।

साथै आर्थिक वर्ष २०७५–७६ मा प्रतिव्यक्ति आय १ लाख १७ हजार पुग्ने र प्रतिव्यक्ति खर्च योग्य आय १ लाख ५५ हजार पुगेको अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म कुल सरकारी खर्च आर्थिक वर्ष २०७४–७५ को सोही अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि भई रु. ५ खर्ब ४१ अर्ब पुगेको छ ।

गत फागुनसम्म अनुदान १३ अर्ब र ऋण ९३ अर्ब गरी थप १ खर्ब ७ अर्ब वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको छ ।

२०७५ फागुनसम्म ७१३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्नुको साथै बैक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ४,७०१ पुगेको छ ।

बिमा व्यवसाय गर्ने कम्पनीको संख्यामा भएको वृद्धिसँगै बिमा व्यवसायको आकार र कारोवारमा विस्तार भएबाट आर्थिक वर्ष २०७५–७६ को फागुनसम्म करिब १८.० प्रतिशत नागरिकमा बिमाको पहूँच पुगेको सर्वेक्षणले देखाएको छ ।

आर्थिक सर्वेक्षणले अर्थतन्त्र सवल र सुदृढ हुँदै गएका तथा दिगो विकास र स्थायित्वका लागि थप प्रयास गर्नुपर्ने क्षेत्रहरूलाई समेटेकोले यो सर्वेक्षण सार्वजनिक, निजी, सहकारी एवं सामुदायिक क्षेत्रको नीति निर्माण, अनुसन्धान र विश्लेषणका लागि उपयोगी हुने अर्थ मन्त्री डा. खतिवडाले वताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button