तपाईँ सुन्दै हुनुहुन्छः

त्रिशूली थ्रिएबाट थप ३० मेगावाटको तयारी

भोलाराज पौडेल, नुवाकोट । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाबाट उत्पादन बन्द भएको छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिएको साता नबित्दै परीक्षणको लागि उत्पादन बन्द भएको हो ।

परीक्षण उत्पादन र राष्ट्रिय प्रशारण लाइनमा विद्युत सप्लाई गर्ने काम सफल भएसँगै अर्को परीक्षणका लागि आयोजना बन्द गरिएको आयोजनाका कर्मचारी नारायणप्रसाद आचार्यले बताउनुभयो । ६० मेगावाट क्षमताको आयोजनबाट थप ३० मेगावाट विद्युत उत्पादन र राष्ट्रिय प्रशारणमा जोड्नका लागि आयोजना बन्द गरिएको हो ।

आयोजनाको सुरुङ, प्रशारण लाइन तथा मेसिन उपकरणहरु ठिक हालतमा भए नभएको विषयमा परीक्षण गर्नुपर्ने प्रावधान अनुसार आयोजना बन्द गरिएको हो । जेठ २ गते विहीवार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले किस्पाङ गाउँपालिका वडा नं. ५ मनकामनाबाट आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडेका थिए । आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युतगृहबाट २२० केभीए डबल सर्किट प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा रहेको सबस्टेसनमा जोडिएको छ ।

आयोजनाले पहिलो युनिटबाट परीक्षणका रूपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिसकेको छ । उपकरण, सुरुङ, बाँधस्थलमा रहेका बालुवा थिग्राउने पोखरीका
संरचनाहरूको परीक्षणका लागि उत्पादन वन्द गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाको दोस्रो युनिट (३० मेगावाट) असारको दोस्रो सातासम्म सञ्चालनमा ल्याउने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button