तपाईँ सुन्दै हुनुहुन्छः

देशलाई समृद्धिको मार्गमा डोर्याउन एकजुट हुन प्रधानमन्त्रीको आह्वान्

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धिको मार्गमा डोर्याउन सबै नेपाली एकजुट आह्वान गर्नुभएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको भक्तपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महान अभियानको रुपमा सो कार्यक्रम सुरु भएको बताउनुभयो ।
सरकार हरेक दिन नयाँ–नयाँ कामका साथ अघि बढिरहेको र बेरोजगार युवालाई रोजगारमा जोड्न कार्यक्रमले सहयोग पु¥याउने बताउनुभयो । प्रधानमन्त्री ओलीले देशैभरि अभियानकै रुपमा सञ्चालन हुने कार्यक्रमले युवाहरुलाई रोजगारीको अवसर सिर्जना गरेको बताउनुभयो । ‘अब कोही पनि काम नपाएर विदेशिनु पर्र्दैन, स्वदेशमै रोजगारी मिल्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले, अब कोही भोकै मर्नुपर्ने अवस्था नआउने पनि बताउनुभयो । सरकार समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा जुटेको भन्दै उहाँले समृद्धिका विरोधीहरुले जनतालाई भड्काउने कोशिस गरिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले अझैपनि राजतन्त्र चाहने तत्वहरु जीवित रहेको बताउनुभयो । ‘तथाकथित क्रान्तिका नाममा चन्दा उठाउने, लुटपाट गर्नेहरु सक्रिय भएका छन्, तर त्यो सफल हुदैनँ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ लागू गरेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा एक महिनामात्रै कार्यक्रम सञ्चालन हुने र आगामी वर्षबाट अझै व्यवस्थित रुपमा देशैभरि कार्यक्रम सञ्चालनका लागि बजेटको व्यवस्था गरेको बताउनुभयो । ‘कार्यक्रमले श्रमप्रति सम्मान गर्छ, गरिबी, अभाव र बेरोजगारीको अन्त्य गर्छ,’ उहाँले भन्नुभयो ।
सांसद महेश बस्नेतले जिल्लाका करिब ७ सय जनालाई रोजगारी मिलेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सुवर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको प्रारम्भ पनि गर्नुभयो । शुक्रबारबाटै भक्तपुरका चार वटै नगरपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button