तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री आजदेखि युरोप भ्रमणमा

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबारदेखि युरोपको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । शनिबार साँझ प्रधानमन्त्री ओली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोप भ्रमणका लागि कतारको दोहाहुँदै स्विट्जरल्याण्ड, संयुक्त अधिराज्य र फ्रान्स जादै हुनुहुन्छ ।
प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको शतवार्षिकी सम्मेलनमा सहभागि हुनुहुनेछ । जेनेभा बैठकमा विश्वका ४५ जति देशका सरकार तथा राष्ट्रप्रमुखको सहभागिता रहने र कतिपय नेताहरुसँग प्रधानमन्त्रीको भेटवार्ताको तयारी भैरहेको परराष्ट्रमन्त्रीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले बेलायतमा विश्वप्रसिद्ध अक्सफोर्ड युनिभर्सिटीको यूनियनलाई नेपालको शान्ति, लोकतन्त्र र विकासका सम्बन्धमा सम्बोधन गर्नुहुनेछ । बेलायत र फ्रान्सको औपचारिक भ्रमण नेपालको परराष्ट्र सम्बन्ध तथा अन्तर्राष्ट्रिय मञ्चमा महत्वपूर्ण सहकार्यको अवसर भएको परराष्ट्रमन्त्री ज्ञवालीले रेडियो नेपालसँग बताउनुभयो ।

जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठनको बैठकलाई सम्वोधन गर्ने क्रममा प्रधानमन्त्रीले नेपालको अन्तर्राष्ट्रिय श्रम संगठनसँगको सम्बन्ध र ऐक्यवद्धता तथा नेपाल जस्ता अल्पविकसित राष्ट्रहरुले श्रम सम्बन्धमा बेहोर्नुपरिरहेको चुनौती तथा नेपालले नयाँ संविधान अन्तर्गत श्रम सम्बन्धमा अपनाएका सामाजिक सुरक्षाका कार्यक्रम सहितका विषयलाई उठाउनुहुने परराष्ट्रमन्त्रीले बताउनुभयो ।

बेलायत र फ्रान्स दुबै नेपालका पुराना मित्र रहि आएका र प्रधानमन्त्रीको ती दुई राष्ट्रमा हुन लागेको औपचारिक भ्रमणले नेपालको सम्बन्धलाई अझ सुदृढ पार्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।
प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, प्रधानमन्त्रीका सल्लाहकारहरु, परराष्ट्र सचिव लगायत रहनुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button