तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको जागरण अभियान सम्पन्न

अजय झा, जनकपुरधाम । नेपाली काँग्रेसले गत बैशाख २५ गतेदेखि शुरु गरेको हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानको पहिलो चरण आज समापन भएको छ ।

पहिलो चरणको एक महिने जागरण अभियानका क्रममा काँग्रेसले ७७ जिल्लामा केन्द्रिय प्रतिनिधि खटाएर टोलस्तरसम्म भेला , सदस्यता वितरण, प्रशिक्षण, अभिलेख सङ्कलन, पार्टीका अग्रजको सम्मान, सहिदका घर परिवारसँग भेटघाट र सुझाव सङ्कलन गरेको छ ।

जागरण अभियानका क्रममा अधिकांश जिल्लामा स्थानीय नेता कार्यकर्ताले केन्द्रमा नेतालाई मिल्न र पार्टीलाई एक ढिक्का बनाउन सुझाव दिएका छन् ।

नेपाली काँग्रेस धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समापन कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय जागरण अभियानले राष्ट्रमा नयाँ तरङ्ग श्रृजना गरेको बताउनुभएको छ ।

उपसभापति निधिले जागरण अभियानले कार्यकर्ताहरुमा नयाँ उत्साह थप्न मद्दत गरेको बताउनुभयो ।

यस्तै दैलेखमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले जागरण अभियानले काँग्रेस कार्यकर्तामा नयाँ उर्जा प्रदान गरेको भन्दै गाउँगाउँसम्म संगठन सुदृढीकरण आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button