तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य संस्थामा जीवनजलको पनि अभाव

मानदत्त रावल-

जुम्ला-जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँस्थित विराट स्वास्थ्यचौकीमा जीवनजलसमेतको अभाव रहेको छ । गाउँपालिकाले समयमा औषधि नपठाउँदा यस्तो अभाव भएको हो । स्थानीय विन बुढाका अनुसार अहिले सुक्खा मौसममा झाडापखालाको सिजन छ, तर स्वास्थ्यचौकीमा जीवनजलसमेत नहुँदा समस्या भएको छ ।

न त नियमित स्वास्थ्यकर्मी नै आउने गरेका छन्, यसले गर्दा यहाँका स्थानीयवासी प्रभावित हुने गरेको उहाँले बताउनुभयो । स्वास्थ्यचौकीका अहेव गोविन्द भण्डारीका अनुसार यहाँ पटक–पटक औषधि शून्य मौज्दात रहने गरेको छ । गाउँपालिकाले समयमा औषधि खरीद नगर्ने र समयमा स्वास्थ्यचौकीमा नपठाउँदा जीवनजलसमेत अभाव रहेको उहाँले बताउनुभयो ।

आइरन चक्की चालू आर्थिकको जेठ अन्तिम सातासम्म तीन महीना जति शून्य मौज्दात रहेको थियो भने कोटिम बच्चा र किशोरावस्थामा प्रयोग गर्ने झण्डै छ महीना जति शून्य मौज्दात रहेकाले सेवाग्राहीलाई दिन नसकिएको उहाँको भनाइ छ ।

त्यसैगरी पारासिटामोल चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म दुई हजार ५०० ट्याब्लेट मात्र आएकाले अपुग भएको अहेव भण्डारीले बताउनुभयो । परिवार नियोजनका अस्थायी साधन कण्डम, पिल्स र डिपो पनि पर्याप्त मात्रामा आउने गरेको छैन । कण्डम चालू आवको जेठ तेस्रो सातासम्म गरी छ महीना जति शून्य मौज्दात रहेको थियो ।

कनकासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष मनवीर बुढाका अनुसार अहिले स्थानीय सरकारले पर्याप्त मात्रामा औषधि पु¥याउन नसकेको स्वीकार गरे । उहाँले भन्नुभयो, स्थानीय तहमा कर्मचारी अभाव, समायोजनको प्रभावले गर्दा पनि समयमा औषधि खरीदको काम नभएर स्वास्थ्य संस्थामा समयमा औषधि पुग्न सकेन । आगामी दिनमा औषधि र नियमित स्वास्थ्यकर्मी उपस्थितिको व्यवस्थापन गरिने उहाँले प्रतिबद्धता गर्नुभयो ।(रासस) 

प्रतिक्रिया राख्नुहोस्

Back to top button