तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाका सबै जेष्ठ नागरिकले घरमै स्वास्थ्य सेवा पाउने

पाल्पा, २६ जेठ । पाल्पाका १० वटै स्थानीय तहका १ हजार ७ सय ९३ जना ८४ बर्ष पुगेका जेष्ठ नागरिकले घरमै स्वास्थ्य सेवा पाउने भएका छन् ।
प्रदेश नम्बर ५ सरकारको कार्यक्रम स्वास्थ्य कार्यलय पाल्पा मार्फत् नगरपालिका र गाउँपालिकाका स्वास्थ्य संयोजकको नेतृत्वमा स्वास्थ्य सेवा प्रदान गरिने स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो । उहाँले, घरमै पुगेर स्वास्थ्यकर्मीले ८४ वर्ष माथिका जेष्ठ नागरिकलाई आधारभुत स्वास्थ्य सेवा दिने बताउनुभयो ।
पाल्पामा प्रदेश सरकारले कार्यक्रम नबनाउदै जिल्लाका तानसेन नगरपालिका र पुर्वखोला गाउँपालिकाले स्वास्थ्य सेवा दिईसकेका छन् । यस कार्यक्रममा पुर्वखोला र तानसेन नगरपालिकाका गरि कुल ३ सय ६७ जना जेष्ठ नागरिकले एकपटक मात्र सेवा पाउनेछन् भने रामपुर नगरपालिका र अन्य गाउँपालिकाका एक हजार ४ सय २६ जना जेष्ठ नागकिरले चालु आर्थिक वर्षमा दईपटक सेवा पाउने स्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार, आर्थिक अभावका कारण तानसेनका वडा नं. एक देखि ७ सम्मका करिब १ सय १२ जना जेष्ठ नागरिक यस कार्यक्रममा सहभागि हुन पाउने छैनन् ।
चालु आर्थिक वर्ष २०७५÷७६ सकिन करिव ४१ दिन बाकी हुँदा सुरु गरिएको कार्यक्रमको प्रभावकारीताप्रति सबै सरोकारवालाहरुले चासो देखाएका छन् ।
आर्थिक बर्षको अन्त्यमा गरिने कार्यक्रममा घरमा पुगी ८४ वर्ष माथिका जेष्ठ नागरिकको आधारभुत स्वास्थ्य परीक्षण र परामर्श सेवा उपलव्ध गराईने छ । समयनुसार उमेर बढ्दै जाँदा मानसिक तथा शारिरीक रुपमा देखिने विभिन्न खाले समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले उमेर बढेपछि समस्या धेरै आउने बताउँदै सामान्य चेकजाँज र परामर्श सेवा मात्र नपाएर ज्यान फाल्ने अवस्था ग्रामिण क्षेत्रमा रहकोले कार्यक्रम राम्रो भएको वताउनुभयो ।
तानसेन नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेले घरमै पुगेर दिने सेवाका लागि मेडिकल अधिकृत हुदाँ राम्रो हुने बताउँदै कार्यक्रम गर्नेमात्र भन्दा सेवा प्रभावमा प्रभावकारीता बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले जेष्ठनागरिकले प्राप्त गर्ने सेवा सुविधामा एकद्धार प्राणाली हुनुपर्नेमा जोड दिँदै आधारभुत स्वास्थ्य सेवाका सवालमा स्वास्थ्यकर्मी एक जना जेष्ठ नागरिकसँग कति समय बिताउने र सेवा बिधि कस्तो हुने भन्ने अन्योलले समस्या थपेको बताउनुभयो । यस कार्यक्रमका लागि प्रदेश सरकारले १५ लाख रुपैया बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button