तपाईँ सुन्दै हुनुहुन्छः

सात सय बढीले लिए प्रशासनको घुम्ती शिविरमा सेवा

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुरको दक्षिणमा रहेको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार बजारमा जिल्ला प्रशासन कार्यालयले संचालन गरेको दुई दिने घुम्ती शिविरमा सात सय बढीले सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालय भोजपुरले शनिवार साँझसम्म नागरिकता र मतदाता नामावली संकलन कार्य गरेको हो । भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय भोजपुरबाट गएको कर्मचारीको टोलीले २ सय ४१ जना महिला र १ सय ७७ जना पुरुष गरी ४ सय १८ जनालाई नागरिकता बितरण गरेको हो ।
शिविरमा १ सय ५३ जना पुरुष र १ सय ९७ जना महिला गरी ३ सय ५० जनाले मतदाता नामावलीमा नाम समेत समावेश गराएको बिवरण आएको जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रयास भट्टराईले जानकारी दिए । उनका अनुसार, हतुवागढी गाउँपालिकाका स्थानीयले आफनै गाउँपालिकामा प्रशासनिक सेवा पाएका हुन् ।
यसअघि पनि जिल्ला प्रशासन कार्यालयले आमचोक गाउँपालिकाको बालंखामा दुई दिने शिविर संचालन गरिसकेको छ । कर्मचारी अभाव भएता पनि गाउँपालिकाको अनुरोधमा घुम्ती शिविर संचालन गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button