तपाईँ सुन्दै हुनुहुन्छः

राडर र लेजरगनबाट सवारीसाधनको गति नाप्दै प्रहरी


भक्तपुर-बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न अरनिको राजमार्गमा सवारीसाधनको गति निर्धारण गरिएको छ । ट्राफिक प्रहरीले अरनिको राजमार्गको भक्तपुर सडकमा सवारीसाधनको गति प्रतिघन्टा ५० किमिका दरले मात्रै सवारीसाधन हाँक्न पाइने नियम बनाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले बताउनुभयो ।

सर्भिस ट्रयाकमा भने प्रतिघन्टा २० किमिका दरले हाँक्नु पर्ने नियम बनेको छ । तोकिएभन्दा धेरै गतिमा हाँकिएका सवारीसाधनलाई राडर गन र लेजर स्पिड गन प्रयोगका आधारमा नियन्त्रणमा लिई कानुन अनुसार कारबाही गरिने प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो ।
महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले कोटेश्वर–सूर्यविनायक,साँगा सडकखण्डमा सवारीसाधनको गति मापन गर्न अत्याधुनिक ‘लेजर स्पिड गन’ प्रयोग गर्ने भएको छ ।

कार्यालयले यसका लागि एक राडर गन र अर्को ‘लेजर गन’ ल्याइसकेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक प्रधानले असार १ गते देखि तीव्र गतिका सवारीसाधन विरुद्ध कडा कारबाही हुने जानकारी दिनुभयो । आज देखि नै गनको प्रयोग गरि सवारी चालकलाई सचेत गराईने र सडकका बिभिन्न स्थानमा ५० किमी प्रतिघण्टाका बोर्ड तथा संकेतहरु राखिने बताउनुभयो ।‘लेजर स्पिड राडारभन्दा अत्याधुनिक रहेको र यसले कति दूरीबाट सवारीसाधन गुडेको भन्ने विवरण पनि दिने प्रहरीको भनाई छ ।

प्रयोग गर्न लागिएको प्रविधि नौलो भएकाले यसबीचमा सर्वसाधारणलाई सुसूचित गरिने ट्राफिक प्रहरीले जनाएको छ । निर्धारितभन्दा तीव्र गतिमा हाँकिएका सवारीसाधन नियन्त्रणमा लिई कारबाही गरिने उहाँले बताउनुभयो । भक्तपुर जिल्लामा पछिल्लो समयमा सडक दुर्घटनाको क्रम बढ्दै गएको छ ।अरनिको राजमार्ग अन्तर्गत कोटेश्वर–सूर्यबिनायक ६ लेन सडकमा दैनिक सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै गए पछि जिल्लामा सडक दुर्घटना एउटा महाप्रलयकै रुपमा देखिएको छ । यसबाट भएको बढ्दो मानवीय, भौतिक र आर्थिक क्षतिले सरोकारवाला सबैलाई झस्काएको छ । छ लेन सडक बने यता दिनहुँ जसो सडक दुर्घटना हुने गरेको छ ।

यसै तथ्यलाई मध्यनजर गर्दै प्रहरीले ट्राफिक प्रणाली चुस्त बनाउन र दुर्घटना क मगर्न गनको प्रयोग गर्न थालिएको महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी निरीक्षक हरिओम खड्काले बताउनुभयोे ।सडक अन्तराष्ट्रिय स्तरको भए पनि चालक र पैदल यात्रुमा भने चेतनास्तर सो अनुसार नहुँदा नमुना सडक दुर्घटनाको कारक बनेको सरोकारवालको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button