तपाईँ सुन्दै हुनुहुन्छः

‘भूमिहीन किसानका समस्या समाधान गर्न विधेयक’

केशव ढुंगाना । सरकारले भुमिहीन किसानका समस्या समाधान गर्ने उद्देश्यले गुठी संस्थान सम्वन्धि विधेयक ल्याएको स्पष्ट पारेको छ ।

यही जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले गुठीप्रथाले विपन्न वर्गका भूमिहीन किसानहरू समस्यामा परेको हुनाले कानुनद्धारा समस्याको समाधान गर्न लागेको स्पष्ट पार्नुभयो ।

मन्त्री बाँस्कोटाले गुठी प्रथाले हाम्रा मौलिक संस्कृति र परम्परालाई जोगाउन मद्दत पुर्याएको भएपनि त्यसको सञ्चालन र व्यवस्थापनको शैली परिवर्तन पर्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले काठमाडौ उपत्यका भित्रका गुठी र उपत्यका वाहिरका गुठीहरूको अवस्था र समस्याहरू फरक–फरक रहेको हुनाले त्यसको समाधानका लागि थप छलफल गर्न सरकार तयार रहेको समेत बताउनुभयो ।

मन्त्रिपरिषद बैठकले जी टु जी प्रक्रियाबाट भारत सरकारसँग युरिया र डिएपी मल खरिद गर्न स्वीकृति प्रदान गर्ने तथा इन्टरनेट जडान गर्दा प्रयोग हुने राउटर लगायतका उपकरण, इन्टरनेट लिज लाईन डाटा कनेक्टिभिटी र मर्मत सम्भार शूल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिई इन्टरनेट सेवाको मूल्य समायोजन गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले डा. बंशीधर मिश्रलाई बंगलादेश, डा नारदनाथ भारद्वाजलाई कतार, महेशराज दाहाललाई अष्ट्रेलिया र दावा फुटी शेर्पालाई स्पेनको राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ ।

यसैगरी धितो पत्र बोर्डको रजत जयन्ती, शिख धर्मका संस्थापक गुरू नानकको जन्म जयन्ती, शताब्दी पुरूष सत्यमोहन जोशीको शतवार्षिकी जन्मोत्सवका अवसरमा स्मारिका, सिक्का, टकमारी गरी चलन चल्तीमा ल्याउन नेपाल राष्ट्र बैकलाई स्वीकृती दिएको छ ।

मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरकार कोष स्थापना र सञ्चालन सम्वन्धी कार्यविधि (पहिलो संशोधन) २०७६, र सार्वजनिक खरिद नियमावली (सातौं संशोधन) २०७६ स्वीकृत गरेको छ भने प्रस्तावित नेपाल वन निगम लिमिटेड स्थापना र सञ्चालन गर्न तथा एकिकृत स्वास्थ्य शिक्षा सम्बन्धी विधेयक तर्जूमा गर्न स्वीकृति दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button