तपाईँ सुन्दै हुनुहुन्छः

पर्यावरणका विषयमा सगरमाथा संवाद गरिने :प्रधानमन्त्री

काठमाडौँ-युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले यही वर्ष नेपालमा ‘सगरमाथा डाइलग’ आयोजना गर्ने बताउनुभएको छ ।

उहाँले पहिलो बैठक पर्यावरणीय मुद्दामा केन्द्रित रहने बताउनुभएको हो । प्रधानमन्त्री ओली शुक्रबार फ्रान्सको प्रसिद्ध सहर शामोनी–मो–ब्लाँ पुग्नुभएको छ । पर्वतारोहण गतिविधिका लागि प्रसिद्ध शामोनी–मो–ब्लाँ सहरमा आयोजित एक समारोहलाई उहाँले सम्बोधन गर्नुभएको थियो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली नागरिक मोरिस हर्जोको प्रशंसा गर्नुभएको थियो । हर्जो शामोनी–मो–ब्लाँका पूर्वमेयर हुनुहुन्थ्यो ।‘मोरिश हर्जो यो सहरका मेयर हुनुहुन्थ्यो । उहाँले अन्नपूर्णको सफलतापूर्वक आरोहण गरेर संसारलाई सन्देश दिनुभएको थियो ।

शामोनीका वर्तमान मेयरले प्रधानमन्त्री ओलीलाई आइस एक्स उपहार प्रदान गर्नुभएको थियो। उक्त कार्यक्रममा नेपाल र फ्रान्सेलीबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्ष उत्सवका सद्भावना दूत श्रृखला खतिवडाले नेपालको जीवन्त संस्कृति र मनोरम दृश्यको आनन्द लिन नेपाल घुम्न आउन फ्रान्सेली साथीहरूलाई निम्तो गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली र फ्रान्सेली समकक्षी एडवार्ड फिलिपबीच बिहीबार द्विपक्षीय हितबारे छलफल भएको थियो। भेटमा फ्रान्सका प्रधानमन्त्रीले नेपालले विश्वका विभिन्न भू–भागमा शान्ति कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको थियो।

युरोपको साता लामो भ्रमणका क्रममा प्रधानमन्त्री ओली गत शनिबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। प्रधानमन्त्री ओली स्वीजरल्यान्ड, बेलायत हुँदै फ्रान्स पुग्नुभएको हो । उहाँ शनिबार स्वदेश फर्कने कार्यक्रम छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button