तपाईँ सुन्दै हुनुहुन्छः

सुविधा कटौती गरिएको भन्दै भक्तपुर अस्पतालका कर्मचारी आन्दोलनमा

भक्तपुर-खाईपाई आएको सेवा सुविधा कटौती गरिएको भन्दै भक्तपुर अस्पतालका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
आफूहरुसँग छलफलै नगरी सञ्चय कोष, महंगी भत्ता, बिदा र ग्रेड काटिएकोले ती सेवा सुविधा पुनः सुचारु गर्न माग गर्दै उनीहरुले आन्दोलन अघि बढाएका हुन् ।

कर्मचारीहरुले कटौती गरिएको सेवा सुविधा उपलब्ध नगराइए आइतबारदेखि अस्पताल नै ठप्प पार्ने चेतावनी दिएका छन् ।
आन्दोलनरत कर्मचारीहरुको संगठनका अध्यक्ष मदन देउलाले आइतबारसम्म आफूहरुको माग पूरा नभए अस्पतालको स्वास्थ्य सेवा रोकिने गरी आन्दोलन थाल्ने चेतावनी दिनुभयो ।

बीसौं वर्षदेखि आएको सेवा सुविधा कटौती गरिएको बिरोधमा गरिएको एक हप्तादेखिको आन्दोलनलाई अस्पताल विकास समिति र प्रशासनले वेवास्ता गरेको उहाँको आरोप छ ।अध्यक्ष देउलाका अनुसार अस्पताल प्रशासनले तत्कालीन अस्पताल विकास समितिले नियुक्त गरेका २२ कर्मचारीहरुको सञ्चय कोष, महंगी भत्ता, बिदा र ग्रेड रोकेको छ ।

कर्मचारीहरुले अस्पताल विकास समितिका अध्यक्ष, मेडिकल सुपरिटेन्डेन्ट, प्रशासन र लेखा अधिकृतका कार्यकक्षमा तालाबन्दी गर्दा पनि आफूहरुको माग पूरा नभएकाले अब अस्पतालको सेवा नै ठप्प पार्ने बताएका छन् ।हातमा कालेपट्टि बाँधेर आन्दोलनमा उत्रिएका उनीहरुले माग पूरा गर्न अस्पताल विकास समिति र प्रशासनलाई आइतबारसम्मको अल्टिमेटम दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button