तपाईँ सुन्दै हुनुहुन्छः

व्यापारघाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना लागू

काठमाडौं । सरकारले मुलुकको बढदो व्यापारघाटा कम गर्ने उद्देश्यले व्यापारघाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना २०७५ लागू गरेको छ ।

कार्य योजना अनुसार आआफना मन्त्रालयहरुले आवश्यक नीति बनाउनु पर्ने भएकोले सबै मन्त्रालयहरुलाई कार्यान्वयनको प्रक्रियामा लैजानका लागि पठाइ सकिएको उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ ।

आगामी ५ बर्षमा नेपालको निर्यात आयातको अनुपात १ः१०.५ कायम गर्ने लक्ष्य कार्ययोजनाको रहेको छ ।

मन्त्रीपरिषदको हालैको बैठकलेले कार्ययोजना कार्यान्वयनमा लैजाने गरी स्वीकृत गरेको थियो । नेपाल सरकारका विभिन्न मन्त्रालयहरु तथा निकायहरुको एकीकृत र समन्यात्मक प्रयासबाट मुलुकको व्यापारघाटालाई न्यूनीकरण गर्ने कार्य योजनाको मुख्य उद्देश्य रहेको छ ।

कार्य योजना अनुसार आगामी ३ महिनामा स्वदेशी उद्योगबाट उत्पादित वस्तुहरु अधिकतम प्रयोग गर्न सार्वजनिक निकायहरुलाई अनिवार्य गर्ने र आगामी २ बर्ष भित्रमा चिनि, सिमेन्ट र औषधीको आयात ८० प्रतिशतले प्रतिस्थापन गर्ने कार्य योजनामा उल्लेख गरिएको छ ।

त्यसै गरी नेपालमा उत्पादन भएका कार्पेट, पश्मिना, छालाका वस्तु, यार्न, जुत्ता र चप्पलहरुको निर्यात आगमी २ बर्षमा ५० प्रतिशतले वृद्धि गर्ने लक्ष्य रहेको छ ।

कार्ययोजनाको कार्यान्वयनको संयोजन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले गर्ने र कार्यान्वयको अवस्थाको अनुगमन प्रधानमन्त्री कार्यालय तथा योजना आयोगले गर्ने व्यवस्था गरिएको छ ।

कार्य योजनामा भएको व्यवस्था अनुसारको काम अघि बढाउन नेपाल सरकारका सबै मन्त्रालय तथा निकायहरुलाई पत्राचार गरिसकिएको उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button