तपाईँ सुन्दै हुनुहुन्छः

गर्मी बढ्दै गएपछि विद्यालय धमाधम बन्द गरिँदै

बर्दिवास-अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् । जिल्लाको सोनमा गाउँपालिकाले यही असार ६ गतेसम्म विद्यालय बन्द हुने सार्वजनिक सूचना नै जारी गरेको छ

लगत्तै जिल्लाको मनराशिशवा र बलवा नगरपालिकाले पनि आजैदेखि छ दिन विद्यालय बन्द गरिने जनाएका छन् । बिहान सूर्य उदयदेखि साँझ अस्तसम्म एकटङ्कारको घामको राप बढेकाले विद्यालय बन्द लागिएको मनराशिशवा नगरपालिकाका प्रमुख सञ्जयकुमार सिंहले बताउनुभयो ।

जिल्लाका अन्य स्थानीय तहले पनि आज नै विद्यालय बन्द गरिनेबारे छलफल गरिने जनाएका छन् । मौसममा सुधार नआए आज नै विद्यालय बन्द गरिने मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहले गर्मी छल्न केही दिन विद्यालय बन्द गर्ने तयारी गरेका छन् ।

जिल्लामा पछिल्ला तीन दिनयता यसअघि कहिल्यै नखेपिएको प्रचण्ड घामको राप बढेको छ । बर्दिवासको भोलावसन्तचोकमा जडित तापमापन सूचना केन्द्रले हिजो शनिबार दिउँसो ३ बजे ४३ डिग्री सेल्सियस तापक्रम देखाएको थियो । अहिले यस भेगमा प्रचण्ड गर्मीको रापले सामान्य हिँडडुल पनि सकस बनेको छ । गर्मीले गर्दा हाटबजार र कार्यालयमा पनि चहलपहल देखिँदैन ।

गर्मीका कारण महोत्तरीका हाटबजारमा सर्वसाधारणको आवागमन निकै घटेको छ । प्रचण्ड घामको रापले विद्यालय पढ्न जाने स–साना नानी, वृद्धवृद्धा र कडा शारीरिक श्रम गर्ने मजदुर मारमा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button