तपाईँ सुन्दै हुनुहुन्छः

सहमतिप्रति सबै इमान्दार हुनुपर्छः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताउनुभएको छ ।

शहीद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले सोमबार पार्टी कार्यालय धूम्रबाराहीमा आयोजना गरेको स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले एकताका क्रममा गरिएको सहमतिलाई इमान्दारीपूर्वका कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर विचार, राजनीति र कार्यनीतिलाई अझ विकसित र परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

“पार्टी एकतालाई सुदृढ गर्ने र बाँकी रहेका कामलाई टुङ्ग्याउने तथा भएका सहमति, समझदारीमा इमान्दारिसाथ उभिनुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “स्पष्ट मान्यता र सिद्धान्तअनुसार पार्टी एकता गरिएको हो । नेपाली जनताका अगाडि गरिएका बाचा कबोल हामी कसैले पनि बिर्सन हुँदैन । यसबाट कसैले दायाँबायाँ गर्न खोज्यो भने त्यो नेपाल राष्ट्र र नेपाली जनताप्रति घात हुनेछ ।”

माक्र्सबादको निर्देशन र पथप्रदर्शनमा समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्यले दुई पार्टीबीच एकता भएको उल्लेख गर्दै उहाँले ठूला पार्टीबीचको एकताका क्रममा केही जटिलता देखिएको भए पनि एकताको मर्मअनुुसार अन्तिम रुप दिइने बताउनुभयो ।

“दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता गरेर ठूलो ऐतिहासिक र आसाधारण कामको शुरुआत गरिएको छ, सिद्धान्तहीन ढङ्गबाट पार्टी एकता गरिएको होइन । पार्टीको यस लक्ष्यलाई नबुझेर कतिपयलाई अलमल हुनसक्छ” अध्यक्ष दाहालले भन्नुभयो, “पार्टीले सामूहिक ढङ्गले राजनीतिक प्रतिवेदन तयार पार्दा हिजोका दुबै धारका वरिष्ठ नेताको सर्वसम्मतिमा दुबै पार्टीका उच्च निकायबाट पारित गरेर आगामी बाटो टुङ्ग्याइएको हो ।”

पार्टीको राजनीतिक प्रतिवेदनमा नेपाली जनताको परिवर्तनको चाहना पूरा गर्न तत्कालीन अवस्थामा दुई पार्टीले खेलेको भूमिकालाई सकारात्मक ढङ्गबाट मूल्याङ्कन गरिएको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले भन्नुभयो, “जनताको बहुदलीय जनवादको भूमिका होस् वा एक्काइसौँ शताब्दीको जनवाद तथा माओवादी जनयुद्धले खेलेको सकारात्मक भूमिकाको मूल्याङ्कन गर्दै अगाडि जानका लागि इतिहासका ती अनुभव, नीति, कार्यक्रमलाई परिमार्जन गरिनुपर्छ । यी विषयलाई विकसित गरेर जानुपर्छ भन्ने मान्यतासाथ हामीले पार्टी एकता गरेका हौ ।”

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्न इमान्दार भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । जनताको पथमा हिँड्ने बाटोबाट विचलित नभइ अघि बढ्नुनै शहीदप्रति सञ्चा सम्मान हुने उहाँको भनाइ थियो ।

नेकपाका स्थायी समिति सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले क्रान्तिका लागि निरन्तर लागिरहने योद्धाका रुपमा आफूले शहीद खड्कालाई पाएको उल्लेख गर्दै वर्गीय मुक्तिको पक्षमा सही कदम चाल्न सकियो भने मात्र शहीदप्रति सञ्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य पशुपति चौलागाईले पार्टी एकतालाई अन्तिम रुप दिएमा सहीद खड्काप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।

जनयुद्धकै क्रममा पार्टीको प्रवास बैठक सम्पन्न गरी कार्यक्षेत्र फर्कने क्रममा खड्काको २०५९ असार २ गते रौतहटको पिपरामा हत्या भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button