तपाईँ सुन्दै हुनुहुन्छः

एक साताभित्रै दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननका लागि प्रक्रिया शुरु हुने

अर्जुन श्रेष्ठ, काठमाण्डौ । सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्न लागेको जनाएको छ ।

विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले देशभित्रै पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु हुन लागेको जानकारी दिनुभएको हो ।

आइतबार प्रतिनिधिसभा बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एक साताभित्रै पेट्रोलिमय पदार्थको उत्खनन प्रक्रिया शुरु हुने जानकारी दिनुभएको हो ।

उहाँले पेट्रोलिमय पदार्थ उत्खननका लागि नेपाल र चीन सरकारबीच भएको सहमति अनुसार चिनियाँ प्राविधिकसमेत आइसकेका बताउनुभयो ।

मन्त्री यादवले चालु आर्थिक बर्षको जेठसम्ममा १ हजार ५ सय ४५ वटा फर्मको अनुगमन गरिएकोमा १ सय ४५ फर्मलाई जरिवाना गरिएको जानकारी दिनुभयो ।
उहाँले अनुगमनका क्रममा एउटा फर्मको अनुमतिपत्र खारेज गरिएको र छ वटा फर्मलाई कारवाहीका लागि सम्बन्धित निकायलाई पठाइनुका साथै तीन वटालाई मुद्दा चलाइएको जानकारी दिनुभयोे ।

बैठकमा मन्त्री यादवले गुणस्तर तथा नापतौल विभागबाट १ सय ४५ वटा गुणस्तर चिह्न प्राप्त गरेका फर्म र अन्य १ सय ६९ फर्ममा गरिएको अनुगमनका क्रममा कूल ११ प्रकारका सामग्रीको बिक्री रोक्का गरिनुका साथै १३ वटा कम्पनीको गुणस्तर चिह्न स्थगन गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button