तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: गायक प्रकाश सपूतविरुद्ध टिप्पणी गर्नेमाथि कार्वाहीको माग

काठमाण्डौं। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले गलबन्दी च्यातियो बोलको गीतका गायकमाथि जातिय विभेद गरी टिप्पणी गर्नेहरुमाथि कार्वाही गर्न माग गर्नुभएको छ ।
सांसदहरु बिमला विक र महेश्वरजंग गहतराजले गायक प्रकाश सपूतलाई जातीय भेदभावका दृष्टिले तल्लोस्तरको टिप्पणी गरिएको, जसबाट सिंगो दलित समूदाय नै अपमानित भएको भन्नुहुँदै त्यस्तालाई कानूनी कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि विनियोजन विधेयक, २०७६ अन्तर्गत विभिन्न शीर्षकहरु माथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनेक्रम जारी छ ।
छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षाका लागि नेपाली सेना प्रतिबद्ध रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय सीमाको सुरक्षा सेनाको मूख्य जिम्मेवारी भएपनि मुलुकको विकास निर्माण तथा भुकम्प, आँधीबेहरी, बाढी– पहिरोजस्ता प्राकृतिक विपद् व्यवस्थापनमा समेत सेनाले महत्वपूर्ण योगदान पु¥याउदै आएको बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले संविधान र ऐनले सेनालाई मुलुकको विकास निर्माण तथा विपद् व्यवस्थापन गर्न मार्ग प्रशस्त गरेकाले सोही बमोजिम कार्यविधि बनाएर सरकारले उक्त काममा सेना सञ्चालन तथा परिचालन गर्ने गरेको बताउनुभयो ।

उहाँले उक्त क्षेत्रमा सेनाको सहभागितालाई अन्यथा नलिन पनि सबैलाई आग्रह गर्नुभयो । अति विशिष्ट व्यक्तिको सवारीका क्रममा सर्वसाधारणलाई कम भन्दा कम असर पर्ने गरी सवारी व्यवस्थापनमा सरकार गंभीर रहेको पनि उपप्रधानमन्त्री पोखरेलले जानकारी गराउनुभयो ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको रुपमा विकास गर्न र अन्य अस्पतालहरुको सेवा पनि प्रभावकारी बनाउन भौतिक संरचना निर्माण, जनशक्तिको व्यवस्था लगायत आवश्यक कामहरु सुरु भएको बताउनुभयो ।
मन्त्री यादवले सबै सरकारी अस्पतालको सेवा प्रभावकारी बनाउन सरकारले ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ अभियान अघि बढाउने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

मन्त्री यादवले विभिन्न अस्पतालको स्तरोन्नति गर्न आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिनभयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रम हालसम्म ४३ जिल्लामा पुगेको र आगामी वर्षभित्र सबै जिल्लामा विस्तार गर्नेगरी काम अघि बढेको बताउनुभयो ।
यसअघि प्रतिनिधिसभाको आजको बैठककोे शुन्य समयमा सांसद बिमला नेपालीले नागरिकता सम्बन्धि विधेयक विगत ११ महिनादेखि ओझेलमा परेको भन्नहुँदै सो विधेयकलाई छलफलमा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामकुमारी झाक्रीले विभिन्न घटनामा सरकारको तर्फबाट दिइने क्षतिपूर्ति मापदण्डको अभावमा पहुँचवालाले मात्रै पाउने गरेको भन्नुहुँदै क्षतिपूर्तिको दुरुपयोग हुन नदिन र सुशासन कायम गराउन स्पष्ट बीमा नीति बनाउन सरकारको ध्यानार्षण गराउनुभयो । सांसद मीनबहादुर विश्वकर्माले ढुवानीमा भ्याट प्रणालीले पारेको असरबारे सराकारको ध्यानाकर्षण गराउदै खारेज गर्न सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button