तपाईँ सुन्दै हुनुहुन्छः

पोर्चुगलमा चम्केका नेपाली म्याराथुन धावक आइते तामाङ

लिस्बन-कुनै बेला नेपालमा म्याराथुन धावकका रूपमा चम्केका एक नेपाली युवा यतिबेला भने उत्कृष्ट म्याराथुन धावककै रूपमा युरोपमा समेत चम्किन सफल भएका छन् । काभ्रे, गणेशथानका ३४ वर्षीय आइते तामाङ पोर्चुगलमा आयोजना हुने ट्रेल म्याराथुन दौडमा आफूलाई अब्बल साबित गर्दै उत्कृष्ट अल्ट्रा धावकका रूपमा चम्कन सफल भएका हुन् ।

सन् २०१६ देखि पोर्चुगल बस्दै आएका तामाङले सन् २०१६ र २०१८ को बीचमा पोर्चुगलमा भएका छुट्टाछुट्टै म्याराथुन दौडमा प्रतिस्पर्धा गरेर नौ स्वर्णपदक हात पार्न सफल भएका छन् भने हाल २०१९ मा आयोजना भएका सात छुट्टाछुट्टै ट्रेल म्याराथुन दौडमा सहभागी भई तामाङले तीन स्वर्ण र दुई रजत हात पार्न सफल भए ।

विदेशीसँगको कडा प्रतिस्पर्धासँगै आफूलाई अब्बल साबित गरेका तामाङले पोर्चुगलमा आफू उत्कृष्टमध्येकै एक भएको दाबीसमेत गरे । सन् २००६ मा भक्तपुरमा आयोजना भएको पाँच किलोमिटर म्याराथुन दौडबाट यस क्षेत्रमा प्रवेश गरेका तामाङले १८० किलोमिटर लामो अन्तर्राष्ट्रिय म्याराथुन दौडसम्मको उचाइमा आफूलाई उभ्याउन सफल भएका छन् । उने दुई–दुई पटकसम्म १८० किलोमिटर लामो अन्तर्राष्ट्रिय म्याराथुन दौडमा प्रतिस्पर्धा गरे, त्यो पनि विदेशी भूमि फ्रान्समा । सो प्रतिस्पर्धामा उनी निरन्तर २२ घण्टा दौडिए ।

बाल्यकालदेखि नै खेलकूदको क्षेत्रमा रुचि र आकर्षण रहेका कारण यस क्षेत्रमा आएका तामाङ शुरुआती चरणमा भने फुटबल, बक्सिङ र मार्सलआर्टको खेलाडी थिए । त्यसबखत बक्सिङमा सङ्घर्ष गर्दै आएका तामाङले सन् २००६ मा श्रीलङ्कामा बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपालमा भएको छनोट चरणकै खेलमा आफ्नो नाक भाँच्चिएपछि श्रीलङ्काको यात्रासँगै बक्सिङको यात्रामा समेत पूर्णविराम लागेको बताए ।

सन् २००७ मा नेपालमा भएको ७० किलोमिटरको अन्नपूर्ण अल्ट्रा दौडमा तामाङ प्रथम हुन सफल भए । यो उनको पहिलो राष्ट्रियस्तरको प्रतिस्पर्धा थियो । दौडमा प्रथम भएसँगै तामाङलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्र्धाका लागि पहिलोपटक विदेशमा भाग लिन जाने अवसर समेत जु¥यो ।

नेपालमा साना–ठूला गरेर दर्जनौँ प्रतियोगितामा सहभागी भएका तामाङको पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भने सन् २००७ मा हङकङमा भएको थियो । हङकङमा भएको ‘हङकङ १०० किमी दौड प्रतियोगिता’ मा उनी दोस्रो भए । पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएसँगै तामाङको विदेश यात्राले निरन्तरता पाउँदै गयो । सन् २००७ मा मलेशियामा भएको १७ किलोमिटरको दौड प्रतिस्पर्धामा दोस्रो भई आठ हजार डलरसमेत प्राप्त गर्न सफल भएको उनले बताए ।

सन् २००८ मा सिङ्गापुरमा भएको अन्तर्राष्ट्रिय माउण्टेन दौडमा स्वर्णपदक हात पार्न सफल भएका तामाङको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको यात्रा एकपछि अर्को गर्दै थपिँदै गयो । सन् २०१२ मा मलेशियामा भएको २७ किमी स्काइ म्याराथुनमा उनले स्वर्णपदक जित्न सफल भए । हङकङबाट शुरु भएको अन्र्तराष्ट्रिय प्रतिस्पर्धा मलेशिया, फ्रान्स, सिङ्गापुर, स्वीट्जरल्याण्ड, पोर्चुगललगायत गरी आधा दर्जनभन्दा बढी देशमा सहभागिता जनाउँदै पछिल्लो समय युरोपमा रहेर तामाङ सफलताको शिखर चुम्दै अगाडि बढिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button