तपाईँ सुन्दै हुनुहुन्छः

यू–१९ इस्टर्न रिजन क्रिकेटको खेल तालिका परिवर्तन

काठमाडौं । मलेसियामा हुने एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको खेल तालिका परिवर्तन भएको छ ।

म्यानमारले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि खेल तालिका परिवर्तन भएको हो । अर्को साता सुरु हुने प्रतियोगितामा म्यानमार नेपाल रहेको समूह ‘ए’ मा रहेको थियो ।

अब यस समूहमा नेपालसंगै चीन र सिंगापुर मात्र रहनेछ । अर्को समूहमा आयोजक मलेसिया, भुटान, हङकङ र थाईल्याण्ड रहेका छन् ।

खेल तालिका परिवर्तन भएसंगै नेपालले जुलाई ३ मा चीनको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यसअघि नेपालको पहिलो प्रतिद्वन्दी म्यानमार रहेको थियो । यस्तै नेपालले दोस्रो खेलमा जुलाई ५ मा सिंगापुरसंग खेल्नेछ ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताको लागि नेपालले रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरिसकेको छ । नेपाल आइतबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।

नेपाली टोलीमा चार खेलाडी नयाँ अनुहार रहेका छन् । खड्क बोहोरा, तिलक भण्डारी, विशाल बिक्रम केसी र लोकेश बमले पहिलो पटक टिममा स्थान बनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button