तपाईँ सुन्दै हुनुहुन्छः

एसिया क्षेत्रिय बाख्रा विज्ञको सम्मेलन चितवनमा हुँदै

चितवन । नश्ल सुधार, वैज्ञानिक बाख्रापालन र उचित व्यबस्थापन हुन सके नेपालमा बाख्रापालन व्यबसायबाट निकै प्रगति गर्न सकिने विज्ञहरुको धारणा छ । चितवनमा आगामी कार्तिक ३ गते देखि ६ गतेसम्म एसिया क्षेत्रका बाख्रा विज्ञहरुको सम्मेलन हुने भएको छ ।

चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय अन्र्तगतको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा एसियाली क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन गर्ने भएको हो ।

शुक्रवार पत्रकार सम्मेलनमा सो संकायकी डिन डाक्टर शारदा थपलियाले १४ देशमा बाख्रा अनुसन्धान तथा विकासका क्षेत्रमा विशिष्ट योगदान पुर्याउन सफल अनुसन्धानकर्ताहरुका साथै नेपालमा बाख्रा विशेषज्ञ, पशु चिकित्सक , कृषि उद्यमी र किसानहरुको सम्मेलनमा सहभागीता रहने जानकारी दिनुभयो। सम्मेलनमा नेपाल सहित भारत, पाकिस्तान, क्यूवा, अमेरिका, क्यानडा, इटाली, जापान, हंगेरी, चीन, इन्डोनेशिया, बंगलादेश, फ्रान्स र केन्याबाट बाख्रा विशेषज्ञ सहभागिता हुने बताईएको छ ।

विकासशिल विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन भन्ने मुल नाराका साथ हुने सम्मेलनमा खाध्य र पोषणको स्रोत बाख्रा, बाख्रा उत्पादनका नीति, सामाजिक आर्थिक तथा मूल्य श्रृंखला र विकास, बाख्राको आहार, पोषण तथा वासस्थान व्यवस्थापन, आनुवंशिकी, प्रजनन् तथा जैविक प्रविधि व्यवस्थापन विषयमा कार्यपत्र पेश हुने बताईएको छ । त्यस्तै, स्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण, बाख्राजन्य उत्पादनको प्रशोधन प्रविधिसम्बन्धी करीव ७ वटा विशेषज्ञ, २१ वटा आमन्त्रित, ३५ वटा मौखिक एवम् ५२ बढि पोष्टरहरु गरी जम्मा ११५ भन्दा बढी कार्यपत्रहरु प्रस्तुत गरिने सम्मेलनका सदस्य सचिव डा. निराजन भट्टराईले जानकारी दिनुभयो ।

नेपालका चौपाया पशुहरुको कुल संख्यामध्ये बाख्राको संख्या सबैभन्दा धेरै करिब १ करोड १६ लाख रहेको अनुमान छ । विश्वमा करीव ३५१ प्रजातिका बाख्रामध्ये एशिया महादेशमा मात्रै १४६ प्रजातिका बाख्रा पाइन्छन् । नेपालमा ४ प्रजातिका रैथाने बाख्रा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button