तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ३ मा ९ प्रतिशत मात्र रोपाई

मकवानपुर । आज देशभर “धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्यूनीकरण” भन्ने नाराका साथ १६ औं राष्ट्रिय धान दिवस मनाईंदै छ । मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि मनाउने चलन रहेको छ । तर, मध्य असार आइपुग्दा पनि पर्याप्त पानी नपर्दा यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ ।
पर्याप्त बर्षा नहुँदा देशभरी जस्तै प्रदेश नम्बर ३ मा पनि धान रोपाँई ढिलाई भएको छ । ३ नम्बर प्रदेशको १३ जिल्लामा अहिलेसम्म ९ प्रतिशत क्षेत्रफलमा मात्र रोपाई भएको छ । ३ नम्बर प्रदेशको धान रोपाई हुने एकलाख ३४ हजार सातसय २२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १० हजार आठसय १२ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको ३ नम्बर प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
प्रदेश नम्बर ३ का भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता निर्मलकुमार गदालका अनुसार पर्याप्त बर्षा नहुँदा असार १५ सम्म रोपाईको अवस्था कमजोर रहेको छ ।
प्रदेशका १३ जिल्ला मध्ये सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा रोपाई भएको छ । काभ्रेपलाञ्चोकको धान उत्पादनको कुल क्षेत्रफल दशहजार एकसय रहेकोमा हालसम्म दुईहजार २० हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भइसकेको छ । भने, सबैभन्दा कम सिन्धुलीका भएको छ । सिन्धुलीको धान उत्पादनको कुल क्षेत्रफल १६ हजार आठसय ८२ हेक्टर रहेकोमा हालसम्म तीनसय २५ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको छ ।
त्यस्तै, ललितपुरमा ४ हजार ६ सय हेक्टर क्षेत्रफलमध्ये ७ सय ८२ हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ । काठमाडौंको ७ हजार आठसय ८० मध्ये एकहजार २४ हेक्टरमा, भक्तपुरको चारहजार तीनसयमध्ये पाचसय १६ हेक्टरमा , सिन्धुपाल्चोकको १२ हजार दुईसय ३५ मध्ये एकहजार आठसय ३५ हेक्टर क्षेत्रफलमा रोपाई भईसकेको मन्त्रालयले जनाएको छ ।
मकवानपुर जिल्लाको कुल एघार हजार क्षेत्रफलमध्ये हालसम्म एकहजार एकसय, रामेछापको आठहजार आठसय दश हेक्टरमध्ये चारसय ४१ हेक्टरमा, दोलखाको दुई हजार नौसय २० मध्ये एकसय ४६ हेक्टरमा, नुवाकोटको १४ हजार पाँचसय ५० मध्ये एकहजार १९ हेक्टरमा, रसुवाको एकहजार दुईसय ४५ मध्ये पचास हेक्टरमा र धादिङको १२ हजार हेक्टर क्षेत्रफलमध्ये आठसय ४० हेक्टर क्षेत्रफमा मात्रै रोपाई भएको छ । प्रदेश सरकारले आगामी पाँच वर्ष भित्र प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेको गदालले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button