तपाईँ सुन्दै हुनुहुन्छः

अस्पतालका वक्यौता तिर्दै प्रदेश सरकार

मकवानपुर-३ नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश सरकार मातहतका ८ जिल्ला अस्पतालसहित १३ स्वास्थ्य कार्यालयको विद्युत महशुल र खानेपानी महशुल एकैपटक भुक्तानी गरिदिएको छ । लामो समयसम्म विद्युत महशुल नतिरेका अस्पताल र स्वास्थ्य कार्यालहरुमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले १ करोड ८३ लाख २७ हजार रकम भुक्तानी गरेको छ ।

प्रदेश सरकारले हेटौंडा अस्पताल, रामेछाप जिल्ला अस्पताल, रसुवा जिल्ला अस्पताल, भक्तपुर अस्पताल, त्रिशुली अस्पताल, सिन्धुली अस्पताल, धादिङ् अस्पताल र जिरी जिल्ला अस्पतालको विद्युत महशुल र खानेपानीको महशुलको रकम तिरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता सतिश विष्टले जानकारी दिनुभयो ।

३ नम्बर प्रदेश सरकारले १३ जिल्लाकै तिर्न बाँकी अस्पतालको विद्युत र खानेपानीको महशुलको विवरण माग गरी सम्पूर्ण चुक्ता गरिदिने निर्णय अनुसार चुक्ता भएको विष्टको भनाई छ । केन्द्रबाट सम्पूर्ण अधिकार र जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण भएपछि प्रदेश सरकारले पहिलो पटक १ दशकदेखि महशुल नबुझाउँदै आएको अस्पताल र स्वास्थ्य कार्यालयहरुको महशुलको रकम भुक्तानी गरेको छ ।

मन्त्रालयका अनुसार जिल्ला अस्पतालतर्फ १ करोड ४२ लाख २० हजार र स्वास्थ्य कार्यालयतर्फ ४१ लाख ७ हजार महशुल बुझाएको छ ।
३ नम्बर प्रदेश सरकार मातहतका ८ जिल्ला अस्पताल मध्ये सबैभन्दा बढी महशुल हेटौंडा अस्पतालले तिरेको छ । हेटौंडा अस्पतालले विद्युतको ८० लाख र खानेपानीको ८ लाख २५ हजार महशुल चुक्ता गरेको छ ।

यसअघि गत फागनु महिनामा हेटौंडा अस्पतालले ११ लाख रुपैयाँ विद्युत महशुल बुझाईसकेको थियो अस्पतालका सम्पूर्ण ऋणहरु चुक्ता भैसकेको र हाल अस्पताल सुधारोन्मुख हुँदै गरेको हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले बताउनुभयो । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश मातहतका स्वास्थ्य कार्यालयहरुलाई हस्तँन्तरण गरेको हो । प्रदेश ३ मातहतमा ८ अस्पताल र १३ स्वास्थ्य कार्यालयहरु पर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button