तपाईँ सुन्दै हुनुहुन्छः

‘असारे विकासलाई अन्त्य गर्नुपर्छ’

काठमाडौं । अर्थविद्हरूले आर्थिक वर्षको अन्त्यमा हुने असारे विकासलाई सरकारले अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा अर्थविदहरुले विगतका दिनमा स्थायी सरकार निर्माण हुन नसकेको अवस्थामा मौलाउँदै आएको असारे विकासको प्रवृत्तिलाई अहिले निरन्तरता दिन आवश्यक नभएको बताउनु भएको छ ।

पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले हालै सरकारले ल्याएको आर्थिक सर्वेक्षणले आर्थिक विकास गर्ने लक्षण नदेखाएको र यसमा धेरै कमजोरी रहेकाले आर्थिक विकासमा पुरानै प्रवृत्ति दोहोरिने बताउनुभयो ।

मन्त्रालय, विभाग तथा स्थानीय तहजस्ता सम्बन्धित निकायलाई जिम्मेवार बनाउने तथा समयमै कार्यक्रम शुरु नगर्नेलाई कारवाही गर्न सरकारलाई पूर्वअर्थमन्त्री कोइरालाले सुझाव दिनुभयो ।

नेपाली काङ्ग्रेसका नेता दीपक खनालले काम देखाउन र बजेट सकाउने उद्देश्यले मात्र असारे विकास हुने गरेको आरोप लगाउनुभयो ।

अर्थविद् डिल्लीराज खनालले कार्यसम्पादनमा आधारित भएर बजेट विनियोजन हुनुपर्ने, बजेट तथा कार्यक्रम एवं परियोजनाको निरन्तर अनुगमन हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button