तपाईँ सुन्दै हुनुहुन्छः

नेपालद्वारा चीन १० विकेटले पराजित

काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको चीनले २३.१ ओभरमा सबै विकेट गुमाएर ५३ रन बनाएको थियो ।

चीनलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ६ विकेट लिए । ९.१ ओभर बलिङ गरेका सागरले ३ ओभर मेडन राख्दै १९ रन खर्चिएर ६ विकेट लिएका हुन् । यसैगरी ७ ओभर बलिङ गरेका तीलकराज भण्डारीले ३ ओभर मेडन राख्दै १५ रन खर्चिएर ३ विकेट लिए । कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो ।

चीनका गुहावो गो र लिङ चेनले समान १३–१३ रन बनाए पनि अरु ब्याट्सम्यानले व्यक्तिगत रुपमा अधिकतम ५ रन पनि जोड्न सकेनन् । नेपालले अतिरिक्त ७ रन दिन पुग्यो ।

५४ रनको सामान्य लक्ष्य नेपालले ५ ओभरमा कुनै पनि विकेट नगुमाई पुरा गरेको थियो । नेपालको जितमा पवन शर्राफ र रित गौतमले नट आउट पारी खेले ।

पवनले पाँचौ ओभरमा २ छक्का र २ चौकाको मद्दतले २१ रन जोडेपछि नेपाल सहजै विजयी भयो । समग्रमा पवन ४६ रनमा नट आउट रहँदा रित गौतम १० रनमा नट आउट रहे ।

बुधबार पनि पराजित भएको चीन दुवै खेल गुमाउँदै प्रतियोगितबाट बाहिरिएको छ । यो समूहबाट नेपाल र सिंगापुर सेमिफाइनलमा पुगेका छन् ।

सेमिफाइनलमा समूह विजेता र उप विजेताको टुंगो नेपाल र सिंगापुरबीचको खेलको नतिजाले तय हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button