तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई निःशुल्क मौरीसहित घार

??
तनहुँ । तनहुँको रिसिङ गाउँपालिकाले कृषकलाई मौरीसहितको घार प्रदान गरेको छ । पालिकाका सबै वडालाई हुने गरि २५ घार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पण्डितले अधिकांश क्षेत्र मौरी पाल्नका लागि उत्तम ठाँउ रहेकाले उचित रेखदेख गर्न आग्रह गर्नुभयो । ‘अरु क्षेत्रजस्तो मौरी पालनमा श्रम गर्नुपर्दैन । प्रायः सबै काम मौरीले नै गर्छ, उहाँले भन्नुभयो, समय समयमा मौरीको हेरचाह गरे पुग्छ ।’ उहाँले मौरी र घार दुबैको संरक्षण गरि व्यवसायिक रुपमा अघि बढ्न कृषकलाई आग्रह गर्नुभयो ।
गाउँपालिकाका कृषि जेटिए अनिल मिश्रले पहिलो चरणमा निःशुल्क घार वितरण गरेको जानकारी दिनुभयो । प्रति घार ८ हजार ५ सय रुपैयामा खरिद गरिएको हो । राष्ट्रिय बहुउद्देश्यीय तथा मौरी प्रजनन विकास उद्योग भानु–११ रुपाकोटबाट घारसहितको मौरी ल्याइएको उहाँले जानकारी दिनुभयो । आगामी दिनमा पनि घार वितरण गरिने उहाँको भनाई छ ।
वडा नं. ५ राम्जाकोटका कृषक बलराम पोख्रेलले निःशुल्क घार प्रदान गरेकोमा गाउँपालिकालाई धन्यवाद दिनुभयो । ‘काठका मुढा र घरको गाह्रोमा मौरी पालिन्थ्यो, उहाँले भन्नुभयो, आधुनिक घारले हामीलाई व्यवसायिक रुपमा अघि बढ्न उत्साह थपेको छ ।’ उहाँले अरु व्यवसाय भन्दा मौरी पालन सहज भएको बताउनुभयो । उमेरले ८० पुग्न लागेका पोख्रेलले आगामी दिनमा मौरी घारको संख्या बढाउदै लग्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button