तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले सिङ्गापुरसँग खेल्ने

काठमाडौँ । मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रो खेल नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ ।

क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा भोलि हुने उक्त खेल नेपाली समयानुसार बिहान ७ :४५ बजे प्रारम्भ हुनेछ । नेपाल सिङ्गापुर विरुद्वको खेलमा विजयी हासिल गर्न समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्ने तयारीमा भने पराजित भए समूहको उपविजेताका रुपमा सेमिफाइनमा रहनेछ । दुवै टोली सेमिफाइनलमा पुगेकाले यस खेलले सो समूहको विजेता र उपविजेताको टुङ्गो लगाउनेछ ।

विभिन्न सात राष्ट्र सहभागी उक्त प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित सिङ्गापुर र चीन छन् । प्रतियोगितामा दुई खेल खेलेको चीन दुवै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ । नवप्रवेशी टोली चीन नेपाल र सिङ्गापुरसँग पराजित भएको थियो ।

त्यसैगरी समूह ‘बी’ मा भने चार राष्ट्रमा आयोजक मलेसियासँगै, भूटान, हङकङ र थाइल्याण्ड छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउनेछन् । यस प्रतियोगिताबाट विजेता टोली श्रीलङ्कामा आयोजना हुने यू–१९ एशिया कपमा छनोट हुनेछ ।

नेपालले यू–१९ उमेर समूहको खेलमा लामो समयदेखि सिङ्गापुरसँग खेलेकामा नतिजा पनि नेपालकै पक्षमा आएको थियो । पछिल्लो पटक गत अप्रिलमा मलेशियामा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपालले सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो ।

त्यस्तै सन् २०१७ मा सिङ्गापुरमा भएको यू–१९ विश्वकप छनोट एशियाअन्तर्गतको खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button