तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा विशाल नदी हो, छुट्टिएका भंगालाहरु फेरि मिसिन आउछन्: प्रम ओली

काठमाडौं। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विशाल नदी भएकोले यसबाट केही भंगालाहरु छुट्टिए पनि पुनः नदीमै आएर मिसिने बताउनुभएको छ ।
विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेकाहरुलाई शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नदी बग्दा केही भंगालाहरु बाटा भूलेर दायाँबायाँ लागे पनि अलि पर पुगेर सबै भंगाला मुल बहावमा नै मिसिने बताउनुभयो । “कहिले ढिस्काले बाटो छेकेर भंगालाहरु यताउति लाग्छन्, कहिले बाटो भूलेर” प्रधानमन्त्री ओलीले भन्नुभयो “ पुलमुनी भंगालै भंगालामा छरिएको नारायणी नदी अलि तल पुगेपछि मुल बहावमै मिसिन्छ । त्यस्तै कम्यूनिष्ट पार्टीबाट बेला बेलामा छुट्टिएर गएका साथीहरु फेरि अहिले मुलधारमै आउनु भएको छ । वहाँहरुलाई स्वागत छ ।”
प्रधानमन्त्री ओलीले दुई तिहाइ अटेको कम्यूनिष्ट पार्टीमा बाबुराम भट्टराई मात्र हैन सिंगै समाजवादी पार्टी पनि अट्न सक्ने बताउनुभयो । “देश बनाउने बेलामा डिलमा बसेर मतभेद गर्ने होइन, आउनुहोस्, सबै मिलौं देश बनाउँ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
नेपालमा पहिले राजनीतिका मात्र कुरा हुने गरेकोमा अहिले विकासका कुराले प्रधानता पाउन थालेको प्रधानमन्त्री ओलीको भनाइ छ । “जनताका समस्या भन्दा सरकार टाँढा छैन । जनताका आवश्यकतालाई मनन गरेर हामी काम गर्छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामीमा कुनै मतभेद छैन । व्यक्तिगत स्वार्थलाई गौंण र राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखेर विकसित देश बनाउन हामी लागिपरेका छौं ।”
प्रधानमन्त्री ओलीले केहीकेहीले परपरैबाट पार्टी र सरकारको आलोचना गर्ने गरेको बताउनुभयो । “बहुदलमा आलोचना गर्न पाइन्छ । चुनाव पनि हार्नु आलोचना पनि गर्न नपाउनु त भएन नि ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ जति आलोचना गरे पनि सरकार देशमा सुशासन कायम गर्ने अभियानमा दृढ संकल्पित छ ।”
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले मुलुक समृद्ध बनाउने अभियानमा सबै कम्युनिष्ट एक हुनुपर्ने अहिलेको आवश्यकता भएको भन्नुहुँददै सम्पूर्ण कम्युनिष्ट शक्तिलाई एकठाँउमा आउन आह्वान गर्नुभयो ।
अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया भाँड्न चलखेल भइरहेको बताउनुहुँदै छरिएका सम्पूर्ण कम्युनिष्ट शक्ति एक हुन ढिला गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाल समाजवादी पार्टीका नेताहरु कल्पना धमला, देवेन्द्र पराजुली, गुणखर भूसाल, मनु हुमागाईं लगायत नेकपामा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई प्रधानमन्त्री एवं अध्यक्ष ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button