तपाईँ सुन्दै हुनुहुन्छः

मृतक बालकको परिवारलाई आर्थिक सहयोग

दमौली-इँटाभट्टाको पोखरीमा डुबेर मृत्यु भएका तनहुँको म्याग्दे गाउँपालिका–२ ऋषिथुमका दुई बालकको परिवारलाई आर्थिक सहयोग गरिएको छ । सोही वडाको जामुनेस्थित माछापुच्छ«े इँटाभट्टाको पोखरीमा डुबेर मृत्यु भएका सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाहीको परिवारलाई न्यू भिजन युवा क्लबको सक्रियतामा रु ४० हजार प्रदान गरिएको हो ।

युवा क्लबका अध्यक्ष सन्दीप रानाभाटले उक्त रकम शनिबार मृतकका बाबु कृष्णबहादुर शाहीलाई घरमै पुगेर हस्तान्तरण गर्नुभएको छ । दुःखको घडीमा पीडित परिवारलाई मल्हम लगाउने उद्देश्यले स्थानीयस्तरमा रकम सङ्कलन गरिएको रानाभाटले जानकारी दिनुभयो । मृतकका बाबु शाहीले दुवै छोरा गुमाउनु पर्दाको पीडा पैसाले पूर्ति नहुने भए पनि सहयोग गरेकामा सहयोगीदातालाई धन्यवाद ज्ञापन गर्नुभयो । राधा माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्किने क्रममा इँटाभट्टाको पोखरीमा पौडी खेल्दा असार १८ गते दाजुभाइको मृत्यु भएको थियो ।

क्रिकेट सङ्घमा श्रेष्ठ जिल्ला क्रिकेट सङ्घ तनहुँको अध्यक्षमा ताराराम श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । शनिबार दमौलीमा सम्पन्न विशेष साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

सङ्घको उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सचिवमा राजु गुरुङ, कोषाध्यक्षमा मनोज सुवर्णकार र सदस्यमा मोहन गुरुङ, अतिश कुमार खड्का, सुदीप शर्मा, सुशील गिरी, सुमनराज नहर्की, अमित कैनी र नरेश केशी सर्वसम्वत चयन हुनुभएको छ । केन्द्रीय प्रतिनिधिमा सुदीप शर्मा चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा अतिशकुमार खड्का, सुमनराज कार्की, अर्जुन श्रेष्ठ र राजु गुरुङ चयन भएको क्रिकेट सङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button