तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर चार जनाको मृत्यु, ६ घाइते

चिरिञ्जीवी मास्के, काठमाण्डौ । मकवानपुर, दाङ, दोलखा, झापा र नुवाकोटमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ भने ८ घाइते भएका छन् ।

वाईरिङ गर्ने क्रममा करेन्ट लागेर चितवनको कालिका नगरपालिका जुटपानी घर भई हाल मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित ईनभरो प्लास्टिक नेपाल प्रालिमा कार्यरत ३६ वर्षीय पन्च कुमालको मृत्यु भएको छ ।

आजै दाङको लमही नगरपालिका–७ स्थित अर्जुन खोलामा खसेको ट्रिपरलाई डोजरको सहायताले निकाल्ने क्रममा विद्युतको तार छुन गई करेन्ट लाग्दा प्युठान नगरपालिका–९ घर भएका खेतुलाल घर्तीमगरको मृत्यु भएको छ ।

यसैगरी हिजो राती दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ सिमिगाँउमा करेन्ट लागेर २६ बर्षीय दोर्जे तामाङ र झापाको कमल गाँउपालिकामा करेन्ट लाग्दा कमल गाँउपालिका–३ बस्ने नेपाल विद्युत् प्राधिकरण दमक वितरण केन्द्रका प्राविधिक ५५ वर्षीय प्रेम खतिवडाको मृत्यु भएको छ ।

दोलखामा पाँच जना र झापामा एक जनासमेत घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा क्रियापुत्री बस्ने घरको छतमा खेल्ने क्रममा करेन्ट लागेर आज दुई बालक घाइते भएका छन् ।

करेन्ट लागेर विदुर नगरपालिका–१ का पाँच वर्षीय दमै नगरकोटी र सात वर्षीय सुजन नगरकोटी घाइते भएको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । उनीहरुलाई उपचारका लागि काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button